नगर प्रमुख प्रजापति र दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताइयोङबीच भेट
२०८१ मंसिर १७, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले सोमबार भेट गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटमा सम्पदा पुनःनिर्माण, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनलगायतका सहकार्य र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले नेपालको विकासमा दक्षिण कोरियाको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले विदेशी पर्यटकहरुबाट उठाउँदै आएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालको सम्पदा पुनःनिर्माणमा कोरियाली सरकारको सहयोग स्मरणीय रहेको उल्लेख गर्नुभयो ।
भक्तपुरको सम्पदा संरक्षण कार्य, भक्तपुरमा सीपमूलक तालिम केन्द्र सञ्चालन र भक्तपुरका कृषकहरुको धान उत्पादन कार्यमा प्राविधिक सहकार्य गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने उहाँले जानकारी गराउनुुभयो ।
भेटमा महामहिम राजदूत ताइयोङले भक्तपुर नपाले जनताको अपेक्षा अनुसार काम गरेको जानकारी प्राप्त भएको बताउँदै उहाँले सम्पदा संरक्षण कार्यमा भक्तपुर नमुना रहेको बताउनुभयो ।
राजदूत ताइयोङ धेरै पटक भक्तपुर आइसकेको स्मरण गर्दै दशैं तिहारको बीचमा भक्तपुर भ्रमणको क्रममा भक्तपुरका युवाहरुले सांस्कृतिक गतिविधिमा देखाएको सहभागिताले आफू उत्साही बनेको जानकारी गराउनुभयो ।
कुटनीतिक क्षेत्रमा भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको मौलिक शैलीको कार्यको सकारात्मक टिप्पणी हुने गरेको बताउँदै उहाँले भक्तपुरका कृषकहरुको धान उत्पादन वृद्धिको लागि कोइकामार्फत प्राविधिक सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको सहभागिता थियो । प्रमुख प्रजापतिले राजदूत ताइयोङलाई मयुरको झ्याल र नपाका पुस्तकहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।



