विदेशीको सहयोगविना सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार हुनु भक्तपुरबासीको निम्ति गर्वको विषय
भक्तपुर । २०८१ मंसिर ९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवलाई उत्सवमय बनाउनु सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
भक्तपुर महोत्सव प्रचारार्थ आयोजित संस्कृतिकर्मी भेलामा बोल्दै उहाँले भक्तपुर नगरपालिकालाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताउँदै भक्तपुरको उपभोक्ता मोडलको विकासले यहाँको छुट्टै पहिचान कायम भएको बताउनुभयो ।
उहाँले नगरपालिकाद्वारा सञ्चालित सीपमूलक तालिमहरुबारे अवगत गराउँदै हातमा सीप भएको व्यक्ति कहिल्यै विना रोजगार बस्न नपर्ने बताउनुभयो ।
भक्तपुरको सांस्कृतिक सम्पदाहरु हेर्न वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु भक्तपुर भ्रमणमा आउने गरेको बताउँदै उहाँले भक्तपुरको मौलिकता नै यहाँको पहिचान भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले जनताको आर्थिक सहयोग र श्रमदानमा यहाँका सयौंको संख्यामा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले विदेशीको सहयोगविना सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार हुनु भक्तपुरबासीको निम्ति गर्वको विषय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको थियो भने भक्तपुर महोत्सव २०८१ सचिवालय संयोजक गौतमप्रसाद लासिवाले महोत्सवका आकर्षणहरुबारे प्रष्ट पार्नुभयो ।



