२०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सवको प्रचारार्थ आज भक्तपुरका पर्यटन व्यवसायीहरूको भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको आर्थिक विकासमा पर्यटन व्यवसायीहरुको भूमिका उल्लेखनीय भएको बताउँदै भक्तपुर महोत्सव २०८१ सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले पर्यटकीय गन्तव्यस्थल र साँस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुरका कला—संस्कृति र सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गर्दै देश र विदेशका पर्यटकमाझ प्रदर्शन गर्ने अवसरको रुपमा भक्तपुर महोत्सव आयोजना भएको बताउनुभयो ।
विदेशी पर्यटकहरु नेपाली परिवेशमा रमाउन र यहाँका मौलिक संस्कृतिहरु अवलोकन गर्न नेपाल भ्रमणमा आउने गरेको बताउँदै उहाँले भन्नुभयो ‘हाम्रो मौलिकता नै हाम्रो पहिचान हो’ ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले महोत्सव अवधिभर सिंगो नगरलाई क्रियाशील बनाउने उद्देश्यले भक्तपुर नपाले आवश्यक तयारीहरु गरिरहेको बताउँदै भक्तपुर महोत्सवलाई उल्लासमय र अविस्मरणीय बनाउने प्रयत्न गरिने बताउनुभयो ।
भक्तपुर महोत्सव २०८१ सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको मुख्य आकर्षणबारे प्रष्ट पार्दै पाँच दिने महोत्सवमा पर्यटन व्यवसायीहरुको सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा भनपा वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखा र भक्तपुर पर्यटन तथा विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पनि बोल्नुभएको थियो ।



