भाषाको माध्यमबाट दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा टेवा पुग्न
भक्तपुर । २०८१ कार्तिक ३० गते
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित चिनियाँ भाषा तालिम तह २ र ३ को समापन तथा प्रमाणपत्र वितरण समारोह शुक्रबार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले चिनियाँ भाषा सिक्न गाह्रो भए पनि असम्भव भने नभएको बताउँदै गाह्रो काम गर्नेले नै भविष्यमा सफलता हासिल गर्छ भन्नुभयो ।
उहाँले नेपाल चीनबीचको राजनैतिक, कुटनैतिक र सांस्कृतिक सम्बन्धलाई अझ सुमधुर बनाउन विभिन्न तहका चिनियाँ भाषा सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँले प्रशिक्षार्थीहरुलाई राम्रो शिक्षा हासिल गर्न कठिन मेहेनतको आवश्यक पर्ने बताउँदै भाषाको माध्यमबाट दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा पनि टेवा पुग्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले नेपालमा चिनियाँ पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले देश र समाजको सेवा गर्ने दक्ष जनशक्ति उत्पादनमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
भाषा तालिम सञ्चालनले चिनियाँ साहित्य अनुवादक तयार हुने अपेक्षा रहेको बताउँदै उहाँले विदेशी भूमिबाट सिकेर आफ्नै देशको सेवा गर्ने युवा जनशक्ति देशलाई आवश्यक भएको बताउनुभयो ।
त्यस्तै प्रशिक्षकद्धय राजेन्द्र चवाल र विनय हाडाले नयाँ पुस्ता विदेशी भाषा सिकाउने अवसरको लागि नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्दै प्रशिक्षार्थीहरुमा स्वअध्ययनको बानीको विकासको लागि प्रेरित गर्नुभयो । उहाँहरुले भाषा अध्ययनले विदेशी कला र संस्कृतिप्रति लगाब बढ्दै जाने बताउँदै प्रशिक्षार्थीहरुलाई भाषाको गहिरो अध्ययन गर्ने उद्देश्यले भाषा सिक्न अभिप्रेरित गर्नुभयो ।
प्रशिक्षार्थीहरु कृति शाक्य, विश्वनारायण भैल, श्रद्धा कोजु, सुजी ह्योंगोले चिनियाँ भाषा तालिमबारे आफ्नो अनुभव र चिनियाँ गीत प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख प्रजापतिले प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षकद्धय राजेन्द्र चवाल र विनय हाडालाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तालिम संयोजक दिपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।




