नगर प्रमुख प्रजापतिसँग कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीको भेट
२०८१ कार्तिक २५
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कालिकोटको
पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले आइतबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच स्थानीय तहको कार्यशैली, काम, कर्तव्य तथा अधिकार, दुई नगरपालिकाको विशेषता र देशको समसामयिक तथा राजनीतिक विषयमा कुराकानी भयो ।
प्रमुख प्रजापतिले गाउँपालिका अध्यक्ष शाहीलाई भक्तपुर नपामा खादा र भादगाउँले टोपीले स्वागत गर्नुहुँदै भक्तपुर खुला आकाशमुनि अवस्थित जीवित संग्रहालयको रुपमा रहेको बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई राजनैतिक र वर्गीय संघर्ष गर्ने थलोको रुपमा उपयोग गर्दै आइरहेको बताउँदै उहाँले जनप्रतिनिधि, कर्मचारी र जनतामा सेवामुखी भावना हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादी सरकारको नेतृत्व रहेको बेला केही जिल्लामा नमुना काम
गरेको भए पार्टी र देशकै निम्ति फाइदा हुने थियो भन्दै उहाँले राजनीतिक दलका नेताहरू नैतिकवान भयो भने सबै समस्या स्वतः समाधान हु्ँदै जाने बताउनुभयो ।
पचालझरना गा.पा. अध्यक्ष देवराज शाहीले पचालझरना गा.पा. कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि उत्तरपूर्वमा अवस्थित पचाल झरनाको नामबाट नामाकरण भएको बताउँदै कर्णाली प्रदेश आफैमा समृद्ध रहेको बताउनुभयो ।
शिक्षकलाई जागरुक बनाउने अभियानमा रहेको बताउँदै उहाँले बजेटको स्थानीय तहलाई बलियो बनाउन बजेटको सही सदुपयोग गरी जनसहभागितामूलक काम गर्न आवश्यक भएको बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले गा.पा. अध्यक्ष शाहीलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो । भेटमा पचालझरना गा.पा.का सचिवालय सदस्य स्वर्णिम शाहीको पनि उपस्थिति थियो ।



