साङ्गहाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक मो फुछुन भक्तपुर भ्रमणमा
मिति २०८१ कार्तिक १९ गते सोमबार ।
भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको साङ्गहाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डललाई प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षमा फूलको गुच्छा, खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा पुनःनिर्माणलगायतका गतिविधिहरुमा स्थानीय जनताको साथ र सहभागिता रहेको र नयाँ पुस्तलाई सीप हस्तान्तरण गरिरहेको बताउनुभयो ।
नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध इतिहास जतिकै पुरानो रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताले चिनियाँ कम्युनिष्ट पार्टी र अध्यक्ष माओ त्से तुङबाट धेरै कुराहरु सिक्दैछन् भन्नुभयो ।
चिनियाँ साहित्यकार लु शुनको भनाइ “शोषितहरु शोषकका कि त दास बन्छन् कि त शत्रु हुन्छन् तर मित्र कहिल्यै बन्न सक्दैनन” स्मरण गर्दै प्रमुख प्रजापतिले काम गरी खाने जनताको पक्षमा संघर्ष गर्ने र जनताको इमान्दारीपूर्वक सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको स्पष्ट दृष्टिकोण अनुसार नै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।
भेटमा साङ्गहाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनले आफूहरु भक्तपुरको औपचारिक भ्रमण गर्ने साङ्गहाईको पहिलो टोली भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाको आतिथ्य सत्कार गर्ने शैलीबाट प्रभावित भएको बताउनुभयो ।
उहाँले साङ्गहाई शहर चीनको प्रमख व्यापारिक केन्द्र भए पनि चिनियाँ राष्ट्रपति सि जिनपिङले साङ्गहाई लाई जनताको शहर बनाउनुपर्ने र जनताको निम्ति जनताकै सहभागितामा निर्माण गरिनुपर्ने निर्देशन दिनभएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका र साङ्गहाई शहरबीच आर्थिक, शैक्षिक र पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औल्याउनुभयो । “भक्तपुरको हस्तकला उत्पादन सा·हाई पुगोस् भन्ने चाहन्छौं” उहाँले भन्नुभयो ।
उहाँले चिनियाँ साहित्यकार लु शुन साङ्गहाई नगरपालिका नजिकको चचिया· प्रान्तमा जन्मिनुभएको उल्लेख गर्दै उहाँले चिनियाँ जनतालाई विदेशीको परनिर्भरतामा नभई जनताको एकताले नै देश निर्माण गर्नुपर्नेमा जोड दिनुभएको स्मरण गर्नुभयो ।
चिनियाँ प्रतिनिधि मण्डलका अर्का सदस्य कु होङ्गहुईले यस वर्ष साङ्गहाईमा सातौं विश्व आयात मेला हुन लागेको उल्लेख गर्दै गत वर्षको मेलामा ७ खर्ब ८४ अर्ब चिनियाँ रकम बराबरको ब्यापार भएको तथा यस वर्ष पनि विभिन्न देशका उत्पादनहरुको प्रदर्शनी हुने चर्चा गर्नुभयो ।
स्वागत कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, कार्यपालिका सदस्य रोशन मैंया सुवाललगायतको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रम अघि महानिर्देशक फुछुन सहित छ जनाको टोलीले भक्तपुरको दरबार, टौमढी र तालाक्व क्षेत्रको अवलोकन गरेको थियो ।




