भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ आजबाट शुरु : १५ वटा खेल विधामा प्रतियोगिता हुँदै
भक्तपुर । २०८१ कार्तिक ९, शुक्रबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै नयाँ पुस्तालाई अझ परिष्कृत ढंगले अगाडि बढाउन सिर्जनात्मक र रचनात्मक गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
खेलकुदका माध्यमबाट एउटा कुशल, अनुशासित स्वस्थ शरीर, स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्न मद्दत पु¥याउने बताउँदै उहाँले खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको रुपमा खेलकुदलाई लिइनुपर्ने बताउँदै शारीरिक रुपमा स्वस्थ व्यक्तिले समाजको निम्ति धेरै काम गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रुपमा नियमित रुपमा विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँले देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने आधार निर्माण स्वरुप खेलकुदलाई जोड दिँदै आएको बताउँदै प्रतियोगिताले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा समेत टेवा पु¥याउने बताउनुभयो ।
भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आएका भ्रमित समाचारहरुबारे प्रष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको जानकारी गराउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षण कार्यमा कुनै पक्षले बाधा पु¥याएमा सोको जवाफदेही सम्बन्धित पक्ष नै हुने उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुर क्याम्पस र भाज्या पुखु दुवै जनताका सम्पत्ति हुन् भन्दै उहाँले दुवैको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँले पोखरीको डिलमै नगरपालिकाको ऐन–नियमविपरीत संरचना निर्माण गरेको हुँदा नगरपालिकाले कानुनबमोजिम भत्काएको प्रष्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाले पोखरीलाई थप आकर्षक र भक्तपुर क्याम्पसको सुरक्षाको लागि नपाले डिजाइन र ल.इ. स्वीकृत गरी पर्खाल बनाउन लागेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको पत्रलाई बेवास्ता गरी बसेको कारण बाध्य भएर पोखरीको डिल निर्माण कार्य अगाडि बढाउन आवश्यक कार्य थालनी गरेको जानकारी गराउँदै उहाँले अनियमित निर्माण भत्काउन प्रयोग भएको डोजर र जनशक्तिको समेत नियमानुसार क्षतिपूर्ति क्याम्पस प्रमुखबाट असुलउपर गरिनेछ भन्नुभयो ।
प्रमुख प्रजापतिले पर्खाल बनाउन दिइएन भने भक्तपुरका युवा–विद्यार्थीहरुको लागि अर्को एउटा खेलमैदान थपिनेछ भन्दै सारा खेलाडीहरुले भक्तपुर क्याम्पसको चउर प्रयोग गर्न पाउनेछन् भन्नुभयो ।
नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नगरपालिकाको आयोजनामा भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा करिब ३००० खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीहरुमा थप उत्साह बढाउने काम भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अध्ययन सँगसँगै अन्य सिर्जनात्मक गतिविधिमा पनि क्रियाशील बनाउन जरुरी रहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यसँगै सर्वाङ्गीण विकासमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीहरुले समाज र राष्ट्रको गौरवलाई अझ उँचो बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा हुने १५ विधाका विभिन्न खेलकुद प्रतियोगितामा नगरका ८४ वटा विद्यालयका २ हजार ८४६ जना खेलाडीहरुले प्रतियोगितामा भाग लिएको जानकारी गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा खेलाडीको तर्फबाट जिम्नाष्टिकका रेकिसा घेमोसु, रेफ्रिका तर्फबाट कराँतेका अन्तर्राष्ट्रिय रेफ्रि रबिना सुवाल र फुटबलका प्रशिक्षक इन्द्रप्रसाद प्रजापतिले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सपथ लिएका थिए ।
उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरूले खेल प्रदर्शन गरेका थिए ।




+27
Boost