भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न
भक्तपुर, २०८१ कार्तिक ८, बिहीबार
भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बस्यो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव हो” भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको जानकारी गराउनुभयो ।
भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना भएको बताउनुहुँदै उहाँले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँच दिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न समितिका सदस्यहरुले भक्तपुर महोत्सव सभ्य र भव्य रुपमा सफल पार्न आ–आफ्नो तर्फबाट रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।



