“आलोचना भनेको काम गर्नेलाई नै गर्ने हुँदा आलोचनालाई सुधारको अवसरको रूपमा लिनुपर्छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा शनिबार भक्तपुर सल्लाघारीमा भएको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले सङ्कट भनेको मानवलाई नै हुने हुँदा विचलित नभई अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै पुँजीवादी सोच त्यागेर समाजवादी सोच अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरूको हाकुपतासी पहिलेदेखि पहिचानको रूपमा प्रयोग हुँदै आइरहेको छ । अहिले पोशाक किन्नुपर्ने अवस्थामा पुगेको छ । यो पोशाक फेरि बनाउनेतर्फ लाग्नुपर्छ, सीप भएपछि काम हुन्छ अनि जोसँग काम हुन्छ त्यो कहिल्यै परनिर्भर बन्नुपर्दैन ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले विचार, सिद्धान्त, देशभक्तिपूर्ण भावनाले कार्य गरेमा जुनसुकै षड्यन्त्र तथा जस्तोसुकै शक्ति पनि झुक्नुपर्ने उदाहरण भक्तपुरले दिएको स्मरण गर्दै नेमकिपाको सिद्धान्त नै प्रतिक्रियावादीहरूको लागि टाउको दुखाइ बनेको बताउनुभयो । उहाँले तीजलाई शोषित पीडित महिलाको मुक्तिको लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष रामेश्वरी कोजुले वर्तमान अवस्थामा भौतिक परिवर्तन सँगसँगै सांस्कृतिक परिवर्तन पनि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अग्रज व्यक्तिहरूको बलिदानीपूर्ण सङ्घर्षका कारण हाल भक्तपुर उदाहरणीय भएको स्मरण गर्दै पुर्खाको वीरतालाई कदर गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष कमलकेशरी खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा वडा नं ८ का अध्यक्ष लक्ष्मीनारायण दुवाल, महिला वडा सदस्य सुमित्रा बोहजू, सङ्गीता दुवाललगायतले बोल्नुभएको थियो ।

