भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभा सम्पन्न
मिति २०८१ साउन ३१
भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभा बिहीबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरुले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरु संरक्षण र सम्बद्र्धमा विशेष पहल गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरुलाई भादगाउँले टोपी, जुजु धौ, मौलिक थैली र मयुरको झ्याल उपहारस्वरुप प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले भादगाउँले टोपीको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगहरुलाई प्रवद्र्धन गर्न नपा सँधै प्रतिबद्ध रहेको बताउनुभयो ।
जनताको सहयोगमा भक्तपुरको विकास भएको बताउँदै उहाँले भादगाउँले टोपीको प्रयोग कम भएसँगै यसमा आबद्ध पेशाव्यवसायीहरु पनि विस्थापित हुने खतरा बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उँचो राख्न व्यवसायीहरुले निरन्तर यसको संवद्र्धन र प्रवद्धनमा लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक वस्तुहरुको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुने बताउनुभयो ।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया धाबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरु कम हुँदै जाँदा व्यवसायीहरु निराश देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति भादगाउँले कालो टोपी उद्योगका संघका अध्यक्ष सिताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरुमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष रत्नकाजी छुँजु, सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला संघका अध्यक्ष सम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कार्य समितिका सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।



