Explore news and happenings at Bhaktapur

स्तनपान सप्ताहको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर । २०८१ साउन २२, मंगलबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा ‘स्तनपान समानता, सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताहको अवसरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुबीच प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आमा र नवजात शिशुबीच आत्मीयता कायम गर्न स्तनपानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
बच्चा जन्मिएको कम्तीमा ६ महिनासम्म बच्चालाई आमाको दुधमात्र खुवाउनुपर्ने विषयबारे महिलाहरुलाई सचेत पार्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले आमाको प्राकृतिक दुधले शिशुको शारीरिक एवम् मानसिक विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।
समाजमा ब्याप्त अन्धविश्वास र कुरितीलाई हटाउँदै हरेक विषयलाई विज्ञानसम्मत ढंगले व्याख्या गर्नुपर्ने बताउँदै उहाँले स्तनपानले महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिमलाई कम गर्दै लाने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स–साना बालबालिकाहरुको लागि वडाहरुमा शिशुस्याहार सञ्चालन गर्दै बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सोही क्रममा उहााले बताउनुभयो ।
ख्वप अस्पतालका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले शिशु जन्मिने वित्तिकै पहिलो पटक आउने दूध शिशुका लागि निकै लाभदायक हुने बताउँदै पहिलो दुधलाई नफाली बच्चालाई खुवाउन प्रेरित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा चिकित्सा सहायक कमलकेशरी राजचलले स्तनपानबारे प्रस्तुतीकरण प्रस्तुत गर्दै नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउनुपर्ने र बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा विभिन्न रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोपको रुपमा लिइने बताउनुभयो ।
विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने गर्दछ । यो उत्सव १२० भन्दा बढी देशमा अगष्ट १ देखि ७ सम्म प्रत्यक वर्ष आयोजना गरिन्छ । जीवनको पहिलो ६ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताब्यापी रुपमा मनाउँदै आएको हो ।
+4
Grow your 

Leave A Reply

Your email address will not be published.