Explore news and happenings at Bhaktapur

योग्य र सक्षम व्यक्तिले सम्मानित जीवन यापन गर्न सकिने

भक्तपुर । २०८१ साउन १८, शुक्रबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति भोको बस्न नपर्ने बताउँदै योग्य र सक्षम व्यक्तिले सम्मानित जीवन यापन गर्न सक्ने बताउनुभयो ।
जीवन गौरवपूर्ण र सार्थक बनाउन व्यक्तिमा कुनै न कुनै सीप हुन आवश्यक भएको बताउँदै उहाँले युवाहरुलाई देश र जनताको पक्षमा राजनीति गर्न प्रेरित गर्नुभयो ।
जो असल शिष्य बन्छ, त्यो असल गुरु पनि बन्छ भन्दै उहाँले हरेक व्यक्ति जीवनमा एकपटक शिष्य र त्यसपछि गुरु बन्ने नियमित प्रक्रियाजस्तै हो भन्नुभयो ।
नेपालमा उत्पादित वस्तुहरुको निर्यातबाट डेढ खर्ब जतिमात्रै आम्दानी हुन्छ भन्दै प्रमुख प्रजापतिले कर्मचारीहरुको तलब र ब्याज तिर्न पनि विदेशीसँग ऋण लिने अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा वर्षेनी साढे १३ अर्ब खर्ब जति रेमिट्यान्स भित्रिन्छ । नेपाली युवाहरुले खाडी मुलुकमा गएर रगत र पसिनासित साटेको पैसा हो । नेपालको अर्थतन्त्र त्यही रेमिट्यान्सकै भरमा चलिरहेको छ ।’ रेमिट्यान्सविना देशको अर्थतन्त्र नचल्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले भक्तपुर नपाले सीपमूलक तालिमहरु सञ्चालन गरी युवाहरुलाई दक्ष बनाउने काम गर्दै आएको बताउँदै आफूमा भएको ज्ञान र सीप देश विकासमा उपयोग गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा आधारभूत हाउस वायरिङ तालिमका प्रशिक्षक पुन्यराम बासी, आधारभूत कम्प्युटर तालिमका प्रशिक्षक रमेश प्रजापति, प्रशिक्षार्थीद्वय रामकृष्ण सुवाल र कविता कवांले पनि बोल्नुभएको थियो ।
उक्त तालिममा हाउस वायरिङतर्फ २६ र आधारभूत कम्प्युटर तालिममा ६४जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।

Leave A Reply

Your email address will not be published.