Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको आ.व. २०८१।८२ को बजेटमाथि छलफल सुरु

भक्तपुर । २०८१ असार १२ गते, बुधबार

0
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८१।८२ को बजेटमाथि बुधबारबाट छलफल सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सोर्हौं नगरसभाको बैठक भक्तपुर नपाको आ.व. २०८१।८२ को बजेटमाथि नगरसभासद्हरुले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।
बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले नगरसभा भनेको नगरबासीको भावना छलफल हुने प्राज्ञिक थलो हो र सभामा नगरको विकास निर्माण सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबारे पनि छलफल हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय तहमा आर्थिक वर्षको असार १० गतेभित्र बजेट सभामा पेश गरिसक्नुपर्ने र असार १० गतेभित्र पेश भएको बजेटबारे पर्याप्त छलफल र आवश्यकताअनुसार परिमार्जन गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
सभाको आजको बैठकमा भक्तपुर नगर पालिकाको आ.व. २०८१÷०८२ को बजेटमाथि भएको दफावार छलफलमा ९ जना सभासद्हरुले आफ्ना धारणा व्यक्त गर्नुभयो ।
छलफलमा भाग लिँदै सभासद् सभासद् रिता फसिकवाले भनपा ५ स्थित तरकारी बजार व्यवस्थापनको लागि बजेट बढाउनुपर्ने भन्दै वडामा बहुउद्देश्यीय भवन निर्माण गर्न पाए उपयुक्त हुने विचार राख्नुभयो ।
त्यस्तै सभासद् कृष्णगोपाल चौगुठीले भक्तपुर नपाको आन्तरिक स्रोत वृद्धि गर्न व्यवसायीहरुलाई कर छुटको व्यवस्था गरी व्यवसाय दर्तामा अभिप्रेरित गर्नु आवश्यक भएको बताउनुभयो ।
सभासद् रामसुन्दर बासीले वडा बजेट समयसापेक्ष ढंगले वृद्धि गर्नुपर्नेमा जोड दिँदै विद्यालयका शिक्षक–शिक्षकाहरुलाई समयमै तलब पाउनुपर्ने, लिबाली क्षेत्रमा बजेट रकमान्तरण गरी बजेट बढाउनुपर्ने बताउनुभयो ।
सभासद् हरिरत्न गोर्खालीले भक्तपुरको निश्चित पोखरीलाई पौडी पोखरी बनाउनेबारे स्पष्ट हुनुपर्ने र युवा विद्यार्थीलाई कुलतमा फसाउने गिरोहलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद् हेरा ख्याजुले सुन चाँदी तथा गहना पसललाई कारोबारको आधारमा कर निर्धारण गर्नुपर्नेमा जोड दिँदै कौसी खेती र प्रांगारिक मल बनाउने तालिम पुनः सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सभासद् राजकुमार शिल्पकारले वडाको बजेट बढाउनुपर्ने बताउँदै ३ नं. वडाको तेखापुखुलाई पौडी पोखारीको रुपमा विकास गर्न सकिने विचार राख्नुभयो ।
सभासद् श्यामसुन्दर मातांले देको मिवा आवास योजना छिटै सम्पन्न हुने चरणमा पुगेको बताउँदै खेलकुदको भौतिक पूर्वाधार विकासको लागि बजेट वृद्धि गर्नुपर्ने बताउनुभयो ।
सभासद् सूर्यप्रसाद श्रेष्ठले घर मूल्यांकन कर र व्यवसाय कर परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद् गोविन्द दुवालले खानेपानी व्यवस्थापनमा बजेट वृद्धि गर्नुपर्ने भन्दै राजनीतिक दलका नेता, कार्यकर्ताले इमानदारीपूर्वक जनताको सेवा गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै सभाको विशेष समयमा सभासद् कल्पना शिल्पकार, मन्जुमैंया लाखा, विष्णुकेशरी दुवाल, इन्द्रबहादु्र प्याठ, रामसुन्दर बासी, कृष्णलाल किसी, सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी, नारायणप्रसाद त्वानाबासु, राजकुमार शिल्पकार, कृष्णसुन्दर प्रजापति र हेरा ख्याजुले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, देको मिवा आवास योजना, खानेपानीलगायतका स्थानीय समस्याहरु र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्व, शिक्षा, संस्कृति स्वास्थ्य समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँ, निर्माण समितिका संयोजक उकेश कवां र देको मिवा आवास योजनाबारे वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुभयो ।
नगरसभाको अर्को बैठक २०८१ साल असार १४ गते शुक्रबार दिनको ३ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.