काठमाडौँ उपत्यकावासी नेवार समुदायको विशेष पर्वको रूपमा रहेको सिथि नखाः को अवसरमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका पानीका स्रोतहरूमा सरसफाइ कार्य सम्पन्न भयो । स्थानीय जनताको अग्रसरता र नगरपालिकाका वडा कार्यालयहरूको समन्वयमा इनार, ढुङ्गेधारा, कुवा, पोखरीलगायतका ठाउँहरूमा सरसफाइ भएको हो । बर्खायामको सुरुवातसँगै पानीको मुहान धमिलो हुने र पानीजन्य सङ्क्रामक रोगहरू फैलने सम्भावना रहेको हुँदा पानीको स्रोत सफा गर्ने सांस्कृतिक परम्परा रहेको छ ।
यसै क्रममा भक्तपुर नगरपालिका वडा नं। ९ कार्यालयले ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ तथा वृक्षरोपण गरेको छ । स्थानीय महिला, युवा, ज्येष्ठ नागरिक, किसान र सहकारीकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।
ऐतिहासिक धार्मिक पीठ ब्रह्मायणीमा वातावरण सुधार कार्य अन्तर्गत बगैंचा निर्माण तथा पीठ सुधार कार्य भइरहेको छ । ब्रह्मायणीको बाहन हाँसको आकारमा आकर्षक बगैँचा निर्माण कार्य जारी छ । सोही स्थानमा हरियाली व्यवस्थापन कार्य भएको वडा कार्यालयले बताएको छ । यससँगै मृत्युसंस्कार हुने ऐतिहासक दिप क्षेत्रमा पनि सरसफाइ गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा वडाध्यक्ष ज्याख्वले सिथि नखाःको सांस्कृतिक मात्र नभई पर्यावरणीय महत्व रहेको चर्चा गर्दै सार्वजनिक खुला क्षेत्रलाई सफा, सुरक्षित र रमणीय बनाउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले ब्रह्मायणी पीठ परिसरलाई गुरुयोजनाअनुसार आकर्षक, धार्मिक तथा सांस्कृतिक स्थल बनाउने अभियान सञ्चालन गरिएको प्रस्ट पार्नुभयो । उहाँले पीठ परिसरमै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नियमित सांस्कृतिक प्रदर्शनी केन्द्रसमेत निर्माण भइरहेको उल्लेख गर्नुभयो ।
स्थानीय अग्रज एवं पूर्ववडाध्यक्ष कृष्णभक्त लवजूले भक्तपुरवासी जनतामा सम्पदा पुनःनिर्माण तथा सरसफाइ कार्यमा स्वयंसेवी भावना रहेको चर्चा गर्दै जनभावना बमोजिम जनप्रतिनिधिहरूले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखू र वडा सदस्य इन्द्रबहादुर प्याथले सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा सहभागी हुने सबैलाई वडा कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।




Boo