चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
भक्तपुर । २०८१ जेठ ३० गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा भएकोे चिनियाँ भाषा तालिमाको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम आज सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सु्निल प्रजापतिले चिनियाँ भाषाका ९ जना उत्कृष्ट प्रशिक्षार्थीहरुलाई उपहार प्रदान गर्नुका साथै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा सञ्चारको माध्यम हो र भाषा सँगै चिनियाँ राजनीति, अर्थतन्त्र, कला संस्कृति तथा त्यहाँको भूगोलबारे गहन अध्ययन गर्न आवश्यक भएको बताउनुभयो ।
राम्रा राम्रा चिनियाँ साहित्यहरु नेपालीमा अनुवाद गर्न सके धेरै जनताको सेवा हुने बताउँदै उहाँले नेपालमा चिनियाँ पर्यकहरुको संख्या वृद्धि हुँदै गएकोले चिनियाँ भाषाको महत्व अझ बढ्दै गएको छ भन्नुभयो ।
भाषा सिक्नु रहरले मात्रै नगरीकन समाजको सेवा गर्ने भावनाले मिहिनेत गर्ने र थप सिक्न सँधै उत्सुक बन्नुपर्ने उहाँले सोही अवसरमा बताउनुभयो ।
चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवालले भाषा सिक्नेह्रले कम बोल्ने त धेरै सिक्ने बानी बसाल्नुपर्ने बताउँदै कला संस्कृतिको गहन अध्ययनले भाषा छिटो सिकिने विचार राख्नुभयो ।
कार्यक्रममा प्रशिक्षक हरिलक्ष्मी दनेखु र विनय हाडाले भाषा सिकाइ र अध्ययनलाई निरन्तरता दिनु महत्वपूर्ण विषय भएको बताउनुभयो । प्रशिक्षार्थीको तर्फबाट चिनिया“ कविता र गीत प्रस्तुत गरेको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले चिनियाँ भाषा प्रशिक्षकहरुलाई प्रशंसा पत्र र मायाको चिनो वितरण गर्नुभयो ।




