Explore news and happenings at Bhaktapur

पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग–व्यवसायीसँग राय–सुझाव संकलन

भक्तपुर । २०८१ जेठ २८, सोमबार

0
भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि सोमबार भक्तपुरका पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग– व्यवसायीहरुसँग राय—सुझाव संकलन गरियो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रको विकासमा बाह्य र आन्तरिक पर्यटकहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देशको स्थायी विकासको लागि आन्तरिक पर्यटन प्रवद्र्धन र चलायमान बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन क्षेत्रबाट सबै उद्योग–व्यवसायीलाई लाभ पुग्ने नीतिअनुसार भक्तपुर नपाले काम गर्दै आएको बताउनुहुँदै प्रम्ुख प्रजापतिले नगरबासीहरुको रचनात्मक सल्लाह र सुझावले नगरलाई अझ व्यवस्थित र आकर्षक नगरको रुपमा विकास गर्न टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित उद्योग–व्यवसायीहरुले परम्परागत गरगहना संरक्षण र प्रचारको पहल गर्नुपर्ने, भक्तपुरमा पर्यटकहरुको बसाइ अवधि लम्ब्याउने नीति आवश्यक भएको, पर्यटन शुल्क वृद्धि गर्न सकिने, पर्यटकीय स्थलहरु वरपर पार्किङ व्यवस्थापन, कर संकलन प्रविधिमैत्री हुनुपर्ने र करको दायरा बढाउनुपर्ने, उत्कृष्ट उद्योगी सम्मान, दाफा भजन र बाजा मर्मतबारे नयाँ पुस्तालाई तालिम दिनुपर्ने, सार्वजनिक शौचालय व्यवस्थित गर्नुपर्ने, छाडा कुकुरको व्यवस्थापन गर्नुपर्ने, टौमढी र दत्तात्रयमा २४ सै घण्टा सवारी प्रवेश निषेध गरिनुपर्ने, ‘जुजु–धौ’ को गुणस्तर मापनको लागि अनुगमन गर्नुपर्ने, भक्तपुरका फल्चा तथा डबलीहरुमा स्थानीय संगीत, भजन, कला, कौसल, नृत्यको दैनिक वा साप्ताहिक प्रर्दनन गरी भक्तपुरलाई जीवन्त बनाउनुपर्ने, भक्तपुर जिल्लाभित्र नाप तौल कार्यालय खोल्नुपर्ने, किराना तथा खाद्य सम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरुको लागि स्थानीय स्तरबाटै खाद्य अनुज्ञा पत्र वा प्याकेजिङ अनुमति पत्र उपलब्ध गराउनुपर्ने, परम्परागत घरेलु उद्योगलाई निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था हुनुपर्नेलगायतका सुझावहरु राखेका थिए ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राई र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समिति, भक्तपुर घरेलु तथा साना उद्योग संघ, पर्यटन व्यवसायी, भक्तपुर सांगितिक समाज, भक्तपुर जुजु धौ व्यवसायी संघ, जुजु धौ व्यवसायी, भक्तपुर मनि एक्सचेन्ज, होटल व्यवसायी, भक्तपुर खाद्य किराना पसल संघ, रेडिमेड व्यापार संघ, माटाका भाडा बनाउने, होटल एशोसिएसन अफ भक्तपुर, घरेलु व्यवसायी, सुनचाँदी व्यवसायी संघ भक्तपुर, खाद्य व्यवसायी, सौन्दर्यकला व्यवसायी, चिउरा व्यवसायी, हस्तकला व्यवसायीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.