Explore news and happenings at Bhaktapur

नविन आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

२०८१ जेठ २४ गते, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिक गुणस्तरमा समानता ल्याउन नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
नविन आधारभूत विद्यालयमा २०८१ सालमा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, आधारभूत तहका उत्तीर्ण विद्यार्थीहरुलाई बिदाइ तथा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरु पढाइस“गस“गै अतिरिक्त क्रियाकलापमा सहभागी भई आफूमा भएको ज्ञान र सीप उजागर गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीहरुमा किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञानको पनि खाँचो रहेको बताउँदै विद्यार्थीहरुले आधारभूत तहको जगबाट नै उच्च शिक्षालाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरुले अनुशासन र समय परिपालनामा विशेष ध्यान दिन आग्रह गर्दै मेहेनती विद्यार्थीले मात्र जीवनमा सफलता हासिल गर्छ भन्नुभयो ।
विद्यालयका प्रअ प्रकाश गोसाइँले २०८१ सालमा नविन आधारभूत विद्यालयमा ५५ जना नयाँ विद्यार्थीहरु भर्ना हुन आएको तथ्यांक प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीहरुलाई विद्यालय शिक्षासँगसँगै व्यवहारिक र जीवनउपयोगी ज्ञान पनि प्रदान गर्दै आएको बताउनुभयो । नविन आधारभूत विद्यालयप्रति स्थानीय समुदायको सकारात्मक प्रभावका कारण विद्यालयमा स्थानीय विद्यार्थी संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै गइरहेको उहाँले सोही अवसरमा बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षिका क्रिशाला माथ्याले स्वागत गर्नुभएको थियो भने शिक्षिका रश्ना गोसाईले धन्यवादज्ञापन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालयबाट अवकाश प्राप्त शिक्षिका सानुमैया कर्माचार्यलाई दोसल्ला ओढाइ बिदाइ गर्नुभएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालयमा २०८१ सालमा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, आधारभूत तहका उत्तीर्ण विद्यार्थीहरुलाई बिदाइ तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.