Explore news and happenings at Bhaktapur

विश्व वातावरण दिवसको अवसरमा पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

भक्तपुर । २०८१ जेठ २३ गते, बुधबार

0
आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । विश्व वातावरणको अवसर पारेर भक्तपुर नगरपालिकाले आज भक्तपुर नपा वडा नं। ५ ल्योसिंख्य स्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उत्साहजनक सहभागिता उक्त क्षेत्रको सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७४ सालको निर्वाचनपश्चात भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ र वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुभयो ।
उहाँले सम्पदास्थलको सरसफाइ गर्ने दायित्व सबै नगरबासीहरुको हो भन्दै भक्तपुर नपाको सफाइ अभियानमा पनि नगरबासीहरुको सक्रियता पूर्वक सहभागिता रहँदै आएको उल्लेख गर्नुभयो ।
देशको राजनीतिक वातावरण राम्रो भए मात्र सबै क्षेत्र व्यवस्थित हुने बताउँदै उहाँले नागरिकहरुले सामाजिक दायित्व बहन गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले वातावरण सुन्दर र स्वच्छ भए मात्र हामी निरोगी हुने बताउँदै वातावरणलाई सफा र हराभरा बनाउन समुदायकै सक्रियता आवश्यक भएको बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले सरसफाइ अभियान कुनै व्यक्ति विशेष कार्य नभई समाज र समुदायकै हितमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै फोहोरलाई मोहरको रुपमा सदुपयोग गर्न सकिने बताउनुभयो । भक्तपुर नपाले चलाएको सफाइ अभियानले आज भक्तपुर देशकै सुन्दर र आकर्षक नगरको रुपमा विकास भएको बताउँदै उहाँले नगर सुन्दर हुनुमा नगरबासीहरुको पनि उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति वातावरण समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले एक विद्यालय एक सम्पदा सरसफाइ र एक सहकारी एक सम्पदा सरसफाइ अभियानलाई अगाडि बढाउने नीतिअनुरुप काम गर्दै सबैलाई सरसफाईमा सचेत र संगठित पार्ने कार्य गर्दै आएको बताउनुभयो ।
भनपा वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सरसफाइ कार्यक्रममा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्र्दै आफ्नो गाउँ, घर, टोल आफै सफा गर्ने अभियान सञ्चालन गरी वरपरका वातावरणलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं। ५ का वडा सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा धुपी, कपुर, कल्की, पारिजात, कांगियोलगायतका ६५ वटा बोट विरुवाहरु रोपिएको थियो ।

Leave A Reply

Your email address will not be published.