प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला सम्पन्न
भक्तपुर । २०८१ जेठ १४ गते, सोमबार
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयका प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुको भेला कार्यक्रम सोमबार सम्पन्न भयो । उक्त कार्यक्रममा एक सम्पदा एक विद्यालय सरसफाइ गर्ने अभ्यास कार्यान्वयनको लागि आफ्नो नजिकको सम्पदा सरसफाइको लागि विद्यालयहरुलाई जिम्मेवारी तोकिएको छ ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाप्रति माया गर्ने बानीको विकास विद्यालयस्तरबाटै सिकाउनुपर्ने बताउनुभयो । उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणमा विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै विद्यार्थीहरुलाई अनुशासित, कर्तव्यनिष्ठ र देशभक्त बनाउन शिक्षक शिक्षिकाहरुबाट आवश्यक पहल हुनु जरुरी रहेको बताउनुभयो ।
गणतन्त्र दिवसले कामदार वर्गलाई कुनै उपलब्धी दिन नसकेको बताउँदै पु“जीवादी गणतन्त्रले कामदार वर्गको हित नगर्ने विषय जनताले आफै अनुभव गरिरहेको यथार्थबारे प्रष्ट पार्नुभयो ।
राजनीतिक दलहरु विचार र सिद्धान्तको आधारमा सञ्चालन नहुँदा देश विकासको गतिमा बाधा पुगिरहेको चर्चा गर्दै उहाँले राजनीतिक पार्टीहरुको बोली र व्यवहारमा एकरुपता नभएकै कारण नेपाली जनतामा राजनीति प्रति नै वितृष्णा जागेको छ भन्नुभयो ।
विद्यार्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले विद्यार्थीको भविष्य र अनुशासित समाज निर्माणमा शिक्षक र विद्यालयको उल्लेखनीय भूमिका रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुबाट धेरै दक्ष जनशक्तिहरु उत्पादन भइसकेको बताउँदै स्थानीय पाठ्यक्रमको मूल मर्मलाई बुझेर यसको अध्ययन अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो । भक्तपुरका कला संस्कृत र चाड पर्वहरु पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण रहेको उदाहरणहरु प्रस्तुत गर्दै उपप्रमुख जोशीले १०० वर्षपछिको भक्तपुरलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आफ्नो वरपरको क्षेत्रको सरसफाइ गर्ने अभ्यासलाई बढावा दिनुपर्ने बताउँदै उहाँले विद्यालयस्तरबाटै कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्न सके विद्यालयको लागि आवश्यक मल उत्पादनमा टेवा पुग्ने बताउनुभयो । उहाँले घरघरबाट निस्कने फोहोर व्यवस्थापनको जिम्मेवारी सबैको साझा दायित्व भएको बताउँदै विद्यार्थीहरुमा सरसफाइप्रतिको सकारात्मक सोचको लागि विद्यालयस्तरबाट आवश्यक पहल र सचेतना कार्यक्रमहरु गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयालले भक्तपुरका विद्यालयहरुमा विद्यार्थीहरुलाई यहाँको कला, संस्कृति, पर्व, जात्रा आदिबारे अध्ययन अध्यापनले विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको विकास भएको बताउँदै स्थानीय सम्पदा सरसफाइको जिम्मेवारी विद्यालयको सामाजिक दायित्वअन्तर्गत पर्ने विषय पनि हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले स्थानीय पाठ्यक्रमको सान्दर्भिकताबारे प्रष्ट पार्नुभयो भने भनपा वडा नं. २ का वडा सदस्य तथा वातावरण समितिका सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्राध्यापक र स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।



