Explore news and happenings at Bhaktapur

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अभ्यस्त बनाउनुपर्छ

भक्तपुर । ९ जेठ २०८१, बुधबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुको शिक्षण सिकाइ कक्षाकोठामा सीमित हुन दिनुहुँदैन भन्दै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा अभ्यस्त बनाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
ब्राइट स्टार इङ्गलिस स्कूलको ३१ औं वर्षिक पुरस्कार वितरण तथा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भक्तपुरको भाषा, संस्कृतिलाई निरन्तर अगाडि बढाइ हाम्रो पहिचान जोगाउनु आजको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले विद्यार्थीहरुलाई आफ्नै देशमा अध्ययन र रोजगारीको लागि प्रेरित गर्नुपर्ने बताउनुभयो ।
दक्ष र योग्य विद्यार्थीहरु वर्षेनि लाखौंको संख्यामा बाहिरिँदा देश झन् पछाडि धकेलिएको बताउँदै उहाँले शिक्षाले नैतिकवाद र अनुशासित विद्यार्थी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सरकारले शिक्षामा बजेट बढाएको खण्डमा नेपालको शिक्षा अझ व्यवस्थित ढंगले विकास हुने बताउँदै उहाँले भक्तपुरको शिक्षा विकासमा संस्थागत विद्यालयहरुको पनि महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल सुजखूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र सुजखूले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थी प्रतिनिधि र शिक्षक प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले २०८१ सालका उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी र वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.