Explore news and happenings at Bhaktapur

जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन असम्भव : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । २२ वैशाख २०८१, शनिबार

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजको विकास र परिवर्तनमा मजदुर वर्गको योगदान र भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै क्रान्तिकारी नेताहरुको जीवनी अध्ययनमा नयाँ पुस्तालाई प्रेरित गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उहाँले सबै विषयमा आलोचनात्मक दृष्टिकोणको खाँचो रहेको औंल्याउँदै जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुँजीवादी पार्टीहरुले कामदार वर्गको पक्षमा बोल्दैनन्, कामदार वर्गले पुँजीवादी पार्टीको विरोधमा वैचारिक संघर्ष गर्न कहिल्यै छोड्नुहुन्न ।’
नक्कली कम्युनिष्टहरुले मजदुर आन्दोलनलाई कमजोर बनाउने कार्य गर्दै आइरहेको बताउँदै उहाँले विदेशीहरुले नेपालमा आफ्नो स्वार्थ विना लगानी नगर्ने र विदेशी लगानी देशलाई उपनिवेश बनाउने माध्यम भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा पनि प्रभाव पर्ने विषय जोड्दै उहाँले छिमेकी मुलुक भारत स्वतन्त्र नभएसम्म नेपाल स्वतन्त्र हुने सम्भावना नभएको उल्लेख गर्दै उहाँले मजदुुर—किसानलाई राजनीतिक रुपबाट शिक्षित पार्ने कम्युनिष्टहरुको मुख्य दायित्व हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लगानी बोर्ड विधेयक पािरत गर्ने बेलामा नेमकिपाले चर्को विरोध गरेको स्मरण गर्दै विदेशी लगानीले नेपाल साम्राज्यवादीहरुको नवउपनिवेश बन्ने खतरा सिर्जना भएको बताउनुभयो ।
माक्र्स र एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखेर वर्ग संघर्षको माध्यमबाट पुँजीपति वर्गको सत्ता मजदुर वर्गले हातमा लिन सकिन्छ भन्ने नयाँ विचारको सुरुवात गरेको बताउँदै उहाँले कम्युनिष्ट घोषणापत्र अध्ययनले संसारका आधाभन्दा बढी मानिसहरू आआफ्नो देशमा समाजवाद स्थापना गर्न पुँजीपति वर्गको विरुद्ध लडिरहेका छन् भन्नुभयो ।
नेपालका कम्युनिष्ट पार्टीहरुले कम्युनिष्टको सिद्धान्त र विचारअनुसार काम गर्न नसकेको बताउँदै शासक दलहरुको सरकारमा जाने, सत्तामा बस्ने सोचले देश विदेशीको नियन्त्रणमा जान सक्ने खतरा निम्तिएको उहाँले बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले मजदुर आन्दोलनको पृष्ठभूमिबारे प्रष्ट पार्दै शासक दलबाट जनतामाझ कम्युनिष्ट विचारबारे वितृष्णा जगाउने कार्य हुँदै आएको बताउनुभयो । मे दिवसबारे व्यापक छलफल आवश्यक भएको बताउँदै उहाँहरुले मजदुर आन्दोलनले मजदुरको हकहितको निम्ति आवाज उठाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले ‘मोदी फासिवाद’ इ. नरेश खत्रीले ‘मजदुर आन्दोलनको इतिहास’ बारे प्रस्तुतीकरण देखाएका थिए ।

Leave A Reply

Your email address will not be published.