१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन
भक्तपुर । २०८१ वैशाख १७ गते, मंगलबार
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् माननीय सांसद प्रेम सुवालले पुँजीपति वर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभइ पँुजीपति वर्गको मात्र हित हुने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा वर्तमान समसामयिक राजनैतिक विषयमा प्रशिक्षण एवम् प्रवचन कार्यक्रममा बोल्दै उहाँले
मजदुर वर्गले पुँजीपति वर्गविरुद्ध आन्दोलन गरे पछि मात्र मजदुर वर्गको मुक्ति सम्भव हुने बताउनुभयो ।
पुँजीवादले २।३ सय वर्षमा गर्ने भौतिक विकास र प्रगति समाजवादी सोभियत संघले ४०।५० वर्षमै योजनाबद्ध विकास गरेर देखाइ दिएको उल्लेख गर्दै उहाँले विदेशीको भरमा देशलाई विकास गर्ने सोचले देशलाई परनिर्भर बनाउँदै लाने धारणा राखनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘मजदुर पार्टी पुँजीपति सरकारको भागबण्डामा सहभागी हुँदैन् । पुँजीपति सरकारमा भाग लिनु आफैमा ट्रेड युनियनवादी हुन् ।’
नयाँ पुस्तालाई शैक्षिक र राजनैतिक रुपमा योग्य बनाउन आवश्यक रहेको बताउँदै उहाँले कुनै पनि आन्दोलन सहर केन्द्रित हुन नहुने बताउनुभयो ।
उहाँले आन्दोलनविना मजदुर वर्गको मुक्ति सम्भव नहुने र कुनै उपलब्धी हासिल गर्न नसकिने धारणा राख्दै समाजवादमा श्रमको सम्मान हुने र बौद्धिक श्रम गर्नेलाई भन्दा शारीरिक श्रम गर्नेलाई बढी इज्जत दिइने व्यवस्था हो भन्नुभयो ।
मजदुर वर्ग सचेत र संगठित भए मजदुर आन्दोलन अगाडि बढाउन सहज हुने बताउँदै मजदुर आन्दोलन स्वाभाविक ढंगले अगाडि बढे पुँजीवादी वर्गलाई समाप्त पार्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १८४८ मा माक्र्स र एंगेल्सले लेख्नुभएको ‘कम्युनिष्ट घोषणपत्र’ ले संसारलाई नयाँ विचार प्रदान गरेको बताउनुभयो ।
कम्युनिष्ट घोषणापत्रको सफल कार्यान्वयन गरी सशस्त्र संघर्षबाट पुँजीपति वर्गको सत्ता पल्टाएर मजदुर वर्गको सरकार स्थापना गर्ने पहिलो देश सोभियत संघ भएको बताउनुभयो ।
सर्वहारा वर्गको शासन सत्ता स्थापना गर्ने नारा दिएर नेपालका शासकहरु पुँजीवादी सरकारमा पुगेर आफै पुँजीपति वर्गमा परिणत भइसकेका बताउँदै उहाँले नेपालका शासक दलहरूबाट सर्वहारा वर्गको हितको आशा गर्नु भनेको जनताले थप धोका पाउनु हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टी देशको एक मात्र सच्चा कम्युनिष्ट पार्टी भएको अवगत गराउँदै नेमकिपाले स्थापनाकालदेखि मजदुरहरुको हकहितको निम्ति काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टरालईले सीमित स्रोतसाधनबीच जनताका असीमित आकांक्षा पूरा गर्ने दायित्व कर्मचारीहरुको हो भन्दै कर्मचारीहरु श्रमिकहरुको हक अधिकारबारे सचेत र संगठित हुनुपर्छ ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यले कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउँदै कर्मचारीहरु विकृतिपूर्ण क्रियाकलापबाट टाढा रहनुपर्छ भन्नुभयो । कर्मचारीहरुले समाजवादी देशका मजदुरहरुको अवस्थाबारे अध्ययनमा जोड दिनुपर्ने उहाँले सोही क्रममा बताउनुभयो ।
कार्यक्रममा एशोसियसनका विकास प्रजापति र दिलिपकुमार सुवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने भक्तपुर नपाका कर्मचारीहरु तुल्सीराम ह्योंगोजु, सुन्दर ब्यान्जु, लक्ष्मीप्रसाद दुमरु, राधेश्याम मचामसी, राजेश कोजू र सूर्यप्रसाद लवजूले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे नेपाल क्रान्तिकारी मजदुर संघको अपिल वाचन गर्नुभयो ।



