Explore news and happenings at Bhaktapur

काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्नेमा जोड

भक्तपुर । २०८१ वैशाख १६ गते, आइतबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा २०८०।८१ शान्तिपूर्ण, मर्यादित र भव्यताका साथ सम्पन्न गर्न योगदान गर्ने सरोकारवाला सबै संघ संस्था र सहयोगीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम आइतबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले देशको कला र संस्कृति आफैमा सभ्यता हो, हाम्रो कला र सभ्यतालाई अझ विशिष्टीकृत ढंगले प्रदर्शन गर्न पाउनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।
जात्रामा सरकारी निकायबाट उल्लेखनीय काम भएको बताउँदै उहाँले बिस्का जात्रा सबै उमेर समूह र देश विदेशका जनताले हेर्न पाउने व्यवस्था हुनु सुखद् पक्ष भएको बताउनुभयो ।
उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनु उपयुक्त हुने धारणा राख्दै दाङलाई संघीय राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारतबीचको खुल्ला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा समेत भारतको हस्तक्षेप बढ्दै गइरहेको बताउँदै उहाँले शासन सत्तामा बस्ने पदाधिकारीहरुमा देश विकासको खाका नहुँदा देश अनियन्त्रित ढंगले अगाडि बढिरहेको बताउनुभयो ।
चिकित्सकहरुको दरबन्दी नथपिँदा नेपालबाट विदेश जाने चिकित्सकहरुको संख्या दिनप्रतिनिधि बढ्दो अवस्थामा रहेको बताउँदै उहाँले जनशक्ति पलायन हुने प्रवृत्तिले नेपालको अर्थतन्त्रमै क्षति पुगिरहेको बताउनुभयो । उहाँले विदेशी लगानीले देशलाई अरुको उपनिवेश बनाउने खतरा रहेको उल्खेन गर्नुभयो ।
खाद्य पदार्थमा हुने मिसावटका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यपदार्थको उपभोगबाट जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउँदै उहाँले खाद्य पदार्थमा मिसावट गर्नु कानुनी रुपमा दण्डीय रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्काः जात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सरोकारवाला टीम, क्लव, दाफा–भजन तथा स्थानीय जनतालाई भनपाको तर्पmबाट धन्यवाद व्यक्त गर्नुभयो ।
जात्रा अवधिभर भक्तपुर नपाले वडा–वडामा नर्स र स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरी प्राथमिक उपचार कक्षको व्यवस्था गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षणले राष्ट्रिय गौरवलाई अझ उँचो बनाएको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरका चाडपर्व तथा जात्राहरु धार्मिक तथा सांस्कृतिक महत्वका हुनुका साथै विज्ञानसम्मत पनि भएको बताउँदै प्रकृतिसँग जोडिएका सम्पदाको महत्वबारे नयाँ पुस्तामा हस्तान्तरण गर्ने व्यवस्था आवश्यक भएको बताउनुभयो ।
भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठले बिस्का जात्राबारे आफ्नो अनुभव सुनाउँदै यस वर्षको बिस्का जात्रा भव्य, सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।
बिस्का जात्राबारे जिल्ला प्रशासन कार्यालयले गरेको पूर्व तयारी र सम्बन्धित सरोकारवालाहरुसँग भएको समन्वयबारे जानकारी गराउँदै उहाँले स्थानीय जात्रा पर्वहरु प्रहरी प्रशासनको संलग्नताविना नै जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
गुठी संस्थानका प्रमुख खिमा वलीले भक्तपुरबासी जनताको साथ र सहयोगकै कारण बिस्का जात्रा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको स्मरण गर्दै जात्राका चुनौती र समस्याहरुलाई आउँदो वर्षमा सुधार अगाडि बढ्ने प्रतिबद्धना जनाउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.