Explore news and happenings at Bhaktapur

काठमाण्डौ उपत्यकालाई साँस्कृतिक राजधानी बनाउनुपर्ने

काठमाण्डौ, बैशाख १२ गते ।

0
“काठमाण्डौ उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आफैमा जीवन्त संग्रहालय रहेको र यसलाई देशकै साँस्कृतिक राजधानी बनाउनुपर्ने आवश्यकता छ ।”
उपर्युक्त भनाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार काठमाण्डौमा आयोजित साँस्कृतिककर्मीहरुको भेलामा बताउनु भएको हो ।
नेपालमा साँस्कृतिक अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो –“भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छ ।”
प्रमुख प्रजापतिले पुर्खाले नासोको रुपमा छोडेको मूर्त तथा अमूर्त सम्पदाहरु संरक्षण गरी पुनःनिर्माण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्नेमा जोड दिंदै सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगले मौलिकता गुम्ने खतरा औंल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले साँस्कृतिक पुनर्जागरण ल्याउने प्रयास गरिरहेको चर्चा गर्दै मौलिक गुँला बाजाको प्रबद्र्धन तथा बाजाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरेको प्रष्ट पार्नुभयो ।
गुँला बाजा व्यवस्थापन समिति काठमाण्डौमा अध्यक्ष अमिरमान शाक्यले साँस्कृतिक सम्बन्ध विस्तारका लागि भक्तपुर नगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नपाको आयोजनामा यही बैशाख २२ गते हुने खुला गुँला बाजा प्रतियोगिताबारे जानकारी दिनुभयो ।
साँस्कृतिक गुरुहरु डा. पुष्परत्न शाक्य, देवचन्द्र बज्राचार्य, त्रिरत्न मानन्धरलगायतले बोल्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु श्यामकृष्ण खत्री र राजकृष्ण गोराको पनि उपस्थिति थियो ।
कार्यक्रममा गुँला बाजा प्रतियोगितालाई उत्सवकै रुपमा मनाउनुपर्ने र देशभरिकै गुँलाबाजाकर्मीहरुलाई सहभागी गराउने वातावरण बनाउन सुझाव दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.