Explore news and happenings at Bhaktapur

पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा भूकम्प इन्जिनियरिङसम्बन्धी पाठ्यक्रम विकास कार्यशाला

भक्तपुर । २०८० चैत्र २९

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायको आयोजनामा भएको स्नातकोत्तर तह भूकम्प इन्जिनियरिङ शैक्षिक कार्यक्रमहरुको दोस्रो, तेस्रो र चौथो सेमेष्टरको पाठ्यक्रम विकाससम्बन्धी कार्यशालाको बिहीकार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा भएको कार्याशालाको उद्घाटनपश्चात बोल्दै नगर प्रमुख प्रजापतिले उत्पादन श्रमसँग जोड्ने शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने र देशको निम्ति काम गर्ने भावना जागृत गर्ने शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
अहिले विश्वविद्यालयहरु शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्था जस्तो मात्र बनेको बताउँदै उहाँले विद्यार्थीहरुलाई विदेशिनबाट रोक्ने नीति सरकारले ल्याउनुपर्ने बताउनुभयो ।
नेपालको लागि भूकम्पसम्बन्धी इन्जिनियरिङ अत्यन्त महत्वपूर्ण विषय भएको बताउँदै उहाँले २०७२ सालको भूकम्पबाट पूगेको क्षतिलाई ख्वप इन्जिनियरिङ कलेजको प्राविधिक सहयोगमा क्षतिग्रष्ट अधिकांश सम्पदाहरुको भक्तपुर नगरपालिकाले पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजले भूकम्प सम्बन्धी नयाँ नयाँ ज्ञान हासिल गरी देशको निम्ति सक्दो बढी योगदान दिने उद्देश्यले नियमित रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले २०८१ सालमा माघ महिनामा भूकम्प इन्जिनियरिङसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन र २०८२ साल माघ महिनामा चौथो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति पूर्वाञ्चल विश्वविद्यालयका डीन देवीप्रसाद भट्टराईले पाठ्यक्रमसम्बन्धी कार्यशालाहरु निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै पाठ्यक्रम नेपालको माटो सुहाउँदो हुनुपर्ने र पाठ्यक्रम परिमार्जनमा यस कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भूकम्प इन्जिनियरिङसम्बन्धी र अन्य विषयहरुमा अनिवार्य इन्टर्नशीपको व्यवस्था गरेको बताउँदै आंगिक र सामुदायिक कलेजबीच तथा सामुदायिक र सामुदायिक कलेजहरुबीच समन्वय आवश्यक भएको बताउनुभयो ।
विश्वविद्यालय तथा कलेजहरुले समयमा परीक्षाफल प्रकाशित गर्न सकेन भने विदेश जाने विद्यार्थीहरुलाई चाहेर पनि रोक्न नसक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय सिभिल विषय समितिका संयोजक भोलानाथ शर्माले जनप्रतिनिधिहरु विद्धत वर्गले दिएको सल्लाहअनुसार चलेमा शिक्षामा उल्लेख्य सुधार आउने बताउँदै विद्यार्थीहरुको रुचि र चाहनाअनुसारको शिक्षा दिन नसके विद्यार्थीहरु विदेशी क्रम बढ्दै जाने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले २०६५ सालमा नेपालमै पहिलोपटक भूकम्पसम्बन्धी इन्जिनियरिङ अध्यापनको स्वीकृति प्राप्त भएको स्मरण गर्दै हालसम्म स्नातकोत्तर तहमा २७१ जना विद्यार्थीहरुले भर्ना भइ अध्ययन गरेको कलेजको तथ्यांक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सहायक डीन हेमन्त गोइतले कार्याशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै विषय प्रवेश गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.