Explore news and happenings at Bhaktapur

सम्पदाहरुको संरक्षण साझा दायित्व – प्रमुख प्रजापति

मिति २०८० चैत्र २६ गते सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरु देशकै साझा सम्पत्ति भएकोले सबै मिलेर त्यसको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बाराही मन्दिर जीर्णोद्धार तथा संरक्षण समितिको आयोजनामा बाराही खट निर्माणमा सहयोगीहरुको सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले भक्तपुरका जनताको सीप, परम्परागत प्रविधि तथा स्थानीय श्रोत र साधनहरुको प्रयोग गर्ने उद्देश्यले सबै सम्पदाहरु उपभोक्ता समितिमार्पmत निर्माण कार्य भइरहेको स्पष्ट पार्नुभयो ।
नयाँ नयाँ भौतिक विकास मात्रै होइन सयौं वर्ष पुराना सम्पदाहरुको संरक्षण झन महत्वपूर्ण कार्य हो – उहाँले भन्नुभयो ।
विदेशीहरुको सहयोगमा निर्मित सम्पदाहरुले हाम्रो इज्जत नरहने स्पष्ट पार्दै भन्नुभयो– “हाम्रो कला र संस्कृतिबारे जानकारी नभएका विदेशीहरुको सहयोगमा सम्पदाहरु निर्माण गरिएमा हाम्रो मौलिकतामाथि अतिक्रमण हुने खतरा हुन्छ । जीवन कालमा राम्रो कार्य गरेमा पछिसम्म अरुले सम्झने गर्छन् ।”
भनपा वडा नं. ३ का वडाध्यक्ष कृष्ण गोराले संस्कृति नै हाम्रो पहिचान भएकोले त्यसको संरक्षण आवश्यक रहेको बताउँदै हामीसँग भएको सीप र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न संस्कृतिले जिवन्तता पाउनेछ भन्नुभयो ।
बाराही मन्दिर जीर्णोद्धार समितिका सल्लाहकार हृदयचन्द्र वैद्यले जीर्ण भइसकेको बाराहीको खट बनाउन सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै संस्कृति संरक्षणमा नयाँ पुस्ता अगाडि आएकोमा खुशी व्यक्त गर्नुभयो ।
बाराही मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष कृष्ण सदन अवालको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई प्रमुख अतिथि प्रजापतिले प्रशंसा पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष राम सुन्दर खाताखोले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
बाराही खट निर्माण गर्न स्थानीय जनताबाट रु ४३,०६,६४२।– सहयोग संकलन भएको र त्यसमध्ये ६,९४,०६७।– बैंक मौज्दात बाँकी रहेको तथा अरु सबै खर्च भइसकेको कुरा समितिका कोषाध्यक्ष पवन कुमार बल्लले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.