Explore news and happenings at Bhaktapur

राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रवचन

२०८० चैत्र २० गते, मंगलबार

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बैंक तथा वित्तीय संस्थाहरु पुँजीपति वर्गको स्नायु केन्द्र भएको हुँदा ती संस्थाहरुले कामदार वर्गको भन्दा पुँजीपति वर्गकै हितमा काम गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाहरुको प्रमुख समस्या त्यसमा ब्याप्त भ्रष्टाचार र आर्थिक अनियमितता नै हो भन्नुभयो ।
सहकारी संस्थाको जगमा आजको चीनले आर्थिक र सामाजिक विकास गरेको बताउँदै उहाँले चीनका सहकारी संस्थाहरु खुल्ला विश्वविद्यालयको रुपमा सञ्चालित रहेको, कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी तथा व्यापक जनतालाई सचेत र संगठित पार्ने काम गर्दै आइरहेको बताउनुभयो ।
सहकारीमा ठगिएकाहरुको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार चुक्दा लाखौं सर्वसाधारणले आफूले बचत गरेको रुपैयाँ जोखिममा परेको बताउँदै उहाँले समुदायमा आधारित सहकारी संस्थाले पैसा लेनदेनमा मात्र सीमित नरही गरिब जनताको सहयोगीको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कति सहकारीहरु सञ्चालकहरुको बद्नियतकै कारणले डुबेको प्रष्ट पार्दै उहाँले भक्तपुरका सहकारी संस्थाहरुले सामाजिक गतिविधि सञ्चालनका साथै स्वास्थ्य, ज्येष्ठ नागरिक लक्षित आदर निकेतन सञ्चालन, गरिबलाई छात्रवृत्ति, पुस्तक प्रकाशन, तालिम आदि सञ्चालन गरी सदस्यहरुको हितमा काम गर्नु आफैमा स्वागतयोग्य कदम भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाले जस्तै काम गर्न नहुने बताउँदै समुदायको हित र सिंगो समाज उत्थानमा सहकारीको अहम् भूमिका हुनुपर्ने बताउनुभयो ।
उहाँले अधिकांश सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु भन्दा पनि घरजग्गाहरुमा लगानी गरेको पाइएको बताउँदै भक्तपुर नपाले जनताको बचत रकम सुरक्षित गर्ने विषयमा संवेदनशील भएर काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले संकटको समयमा सहकारी संस्थाहरुसँग समन्वय गरी काम गर्दै आएको बताउँदै उहाँले सहकारीले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी गतिविधिहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले गरिब जनताको आशा र भरोसाको केन्द्रको रुपमा रहेका सहकारी संस्था आफैमा संकटग्रस्त हुँदा सहकारीप्रति जनताको विश्वास हट्दै गएको बताउनुभयो ।
समाजलाई बौद्धिक रुपमा माथि उठाउन साहित्यिक गतिविधिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले राजनीतिक र आर्थिक क्षेत्रमा आएको संकटका कारण देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
सहकारी ठगी आरोपितहरुलाई उच्च ओहोदामा पु¥याउने राजनीतिक परिदृश्यले देशलाई झन् संकटमा धकेलेको बताउँदै उहाँले सहकारीहरुले इमानदार र पारदर्शी ढंगले समाज उत्थानमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले जनताको अभिभावकत्व ग्रहण गरी गरिब जनताको साथीको रुपमा काम गर्नुपर्ने बताउँदै सहकारी संस्था स्थापनाको ६ दशक पार गरिसक्दा पनि सहकारीका विकृति र ब्याप्त समस्याहरु यथावत रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी स्थापनाको इतिहासबारे प्रष्ट पार्दै वित्तीय तथा आर्थिक अनुशासन र सहकारी सिद्धान्त र मूल्य मान्यतामा सञ्चालित सहकारीहरुमा कुनै समस्या नभएको बताउनुभयो । सहकारी संस्था सुशासनमा सञ्चालन हुने संस्था भएको बताउँदै उहाँले सहकारी एकीकरणको नीति गलत भएको धारणा राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्राईले सहकारी संस्थाहरु वित्तीय संकटका असल साथीको रुपमा रहेको बताउँदै सहकारीमा देखिएका चुनौती र समस्याहरुबारे प्रष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, सहकारी अनुगमन समितिका हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
+10
B

Leave A Reply

Your email address will not be published.