नगर प्रमुख प्रजापतिद्वारा धलाँखुसि फल्चा (पाटी) शिलान्यास
भक्तपुर । १४ चैत्र २०८०
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित धलाँखुसि फल्चा (पाटी)को बुधबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले सम्पदा भनेको देशको सम्पत्ति र पहिचान भएको हुँदा सम्पदा संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
भक्तपुर नपाले हालसम्म १४५ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको उल्लेख गर्दै सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिमार्फत जनसहभागिता र जनश्रमदानबाट काम हुनु नै भक्तपुरको विशेषताको रुपमा रहेको बताउनुभयो ।
उहाँले भक्तपुरको विकास जनता आफैले गरेको बताउँदै उहाँले यहाँका मूर्त र अमूर्त सम्पदाहरुका कारण भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा पनि विकास हुँदै गइरहेको धारणा राख्नुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउँदै उहाँले नगरमा खानेपानी समस्या समाधानको लागि ठाउँ ठाउँमा जग्गा खरिद गर्दै बोरिङ कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
कुनै पनि सम्पदा निर्माण हुनु आफैमा गौरवको विषय भएको तर ती सम्पदाहरुको नियमित मर्मत सम्भार पनि गर्नुपर्नेमा उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको विकास निर्माण र आगामी योजनामाथि प्रष्ट पार्दै नगरबासीहरुको साथ र सहयोगले वडाको कामले तीव्रता पाइरहेको बताउनुभयो ।
समाजसेवी कृष्णबहादुर दुगुजुले भक्तपुरका खानेपानीको स्रोतहरु सुक्दै गएकोले नयाँ स्रोतको खोजी गर्नुपर्ने बताउँदै भक्तपुरका निर्वाचित जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।
गुठियार सूर्यभक्त चौगुठीले पाटी पुनःनिर्माण कार्यमा वडा समिति, उपभोक्ता समिति र भक्तपुर नपाले आवश्यक सहयोग र समन्वयमा सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय गंगा बमनु र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।



