Explore news and happenings at Bhaktapur

नासमनादेखि वंशगोपालका पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर । २०८० चैत्र ५ गते, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने नपाको उद्देश्यमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा नासमनादेखि वंशगोपालका पसल व्यवसायीहरुको भेला कार्यक्रममा बोल्दै उहाँले नगरलाई सुन्दर र आकर्षक बनाउन नगरबासीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
विदेशी सहयोगविना भक्तपुर नपाले यहाँका सम्पदा पुनःनिर्माण कार्य गरिरहेको चर्चा गर्दै भक्तपुर नपाले स्वायत्त ढंगले काम गरिरहेको र आन्तरिक पर्यटनले पनि नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने बताउनुभयो ।
अनियमित तरिकाले निर्माण गरिएका संरचनाहरुले नगरलाई कुरुप चित्रण गरिरहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक नगरको सुन्दरता कायम गर्न नपाले त्यस्ता संरचनाहरु हटाउने र बजार व्यवस्थापन कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
भक्तपुर पर्यटकीय हिसाबले संसारकै महत्वपूर्ण स्थलको रुपमा विकास भइरहेको बताउँदै उहाँले पर्यटन गतिविधि बढेसँग नगरको आर्थिक गतिविधिमा पनि चहलपहल र सुधार हुँदै गएकोे बताउनुभयो ।
पर्यटकहरुको चहलपहल बढेसँगै यहाँका व्यापार व्यवसाय पनि फस्टाउँदै गएको बताउँदै नगरको मौलिक स्वरुप संरक्षणले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पसल व्यवसायीहरुले नगरको सरसफाइ र सुन्दरतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नगरका अनियमित संरचनाहरु समयमै हटाएर नगरपालिकाको सकारात्मक कार्यमा सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा भनपा श्यानिटेशन उपशाखाका दिलिपकुमार सुवालले कुहिने र नकुहिने फोहर अलग अलग छुट्याएर मात्र सफाइकर्मीहरुलाई दिन अनुरोध गर्नुभयो ।
+6

Leave A Reply

Your email address will not be published.