विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै असल संस्कार दिनुपर्छ
२०८० चैत्र ३ गते, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै असल संस्कार र व्यवहार पनि सिकाउनुपर्ने धारणा राख्नुभएको छ ।
हिमालयन इङ्गलिस सेकेन्डरी स्कूलको वार्षिक कार्यक्रम तथा एसईई उत्तीर्ण विद्यार्थीहरुको बिदाइ कार्यक्रममा बोल्दै उहाँले विद्यालयहरुले आयोजना गर्ने अतिरिक्त क्रियाकलापका गतिविधिले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरको सन्तुलित विकासमा नगरपालिकाले मध्यनजर गर्दै यहाँको शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको बताउँदै भक्तपुरमा अध्ययन विद्यार्थीहरुलाई यहाँको कला संस्कृति, भाषा, संस्कार आदि सिकाउन विद्यालयहरुमा स्थानीय पाठ्यक्रममार्फत अध्ययन अध्यापन गराउँदै आइरहेको बताउँदै उहाँले नगरबासी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिहरु पनि प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई २०७६ र २०७७ मा उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।



