भक्तपुर नगरपालिकाले नगरको सम्पदा क्षेत्रमा हरियाली व्यवस्थापन गर्ने उद्देश्यले दरवार क्षेत्र, दत्तात्रय, नःपुखुलगायत विभिन्न स्थानमा विरुवासहित गमलाहरु राखेपछि स्थानीय वासिन्दा तथा पर्यटकहरुबाट सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । घना बस्तीका कारण नगरभित्र रुख विरुवा रोप्ने ठाउँ नहुँदा खल्लो लागे पनि सम्पदा क्षेत्रमा हरियाली देख्न पाउँदा खुशी लागेको उहाँहरुको भनाइ छ । पुरानो नगरको उपयुक्त स्थानमा सानै भए पनि बगैंचा बनाउनु पर्ने र केही पिच सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्नुपर्ने सुझावहरु पनि दिनुभएको छ ।
पछिल्ला समयमा दरवार क्षेत्र, दत्तात्रय र नःपुखु क्षेत्रमा राखिएका आकर्षक गमलाहरु केही उच्छृङ्खल व्यक्तिहरुले रातिको समयमा जाड रक्सी खाएर फुटाउने अराजक गतिविधि गरिरहेकोमा विहिबार दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले गिरप्mतार गरेको छ । पक्राउ परेका व्यक्तिहरु भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले बताउनुभयो ।
राति ११ बजेर ४० मिनेटको समयमा ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी केही अपशव्द समेत बोलेको र दत्तात्रय मन्दिरको उकालोतिर रहेको ठूलो गमला फुटाएको सीसी क्यामेराको फुटेजका आधारमा निजहरुलाई प्रहरीले गिरप्mतार गरेको हो । निजहरुबाट नगरपालिकाले प्रतिव्यक्ति रु. ५ हजारको दरले जरिवाना गरेको नगरपालिका स्रोतले बतायो ।
उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिका परिवार सदस्यहरुले शुक्रबार नगर प्रमुख सुनिल प्रजापति र वडाध्यक्ष रविन्द्र ज्याख्वसंग भेट गरी आप्mना सन्तानहरुबाट गल्ती गरेको स्वीकार गरेको नगरपालिका स्रोतले बतायो । नगरपालिकाले जनताको पक्षमा गरेका काम र सम्पदा पुनःनिर्माण गरिरहेकोमा आफूहरु खुशी भएको जानकारी दिंदै उहाँहरुले आप्mना सन्तानहरुको गलत व्यवहार सच्याउन आफूहरु कटिवद्ध हुने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नयाँ पुस्तालाई समाजप्रति जिम्मेवार बनाउन तथा इमान्दारिपूर्वक देशको सेवा गर्न परिवार, समाज र विद्यालयबाट सकारात्मक वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।