विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुद्वारा भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा
भक्तपुर । २०८० जेठ ८ गते, सोमबार
विभिन्न स्थानीय तहका उपप्रमुख, वडाध्यक्ष तथा उपाध्यक्षहरुको टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरुबारे अनुभव आदानप्रदान ग¥यो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र साँस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर निरन्तर अघि बढिरहेको बताउनुभयो ।
संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्दै व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्य जस्ता विषयहरु न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काम गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले पारदर्शिता र इमानदारिता नै जनविश्वास जित्ने मुख्य आधार भएको बताउँदै उपभोक्ता समितिमार्फत काम गर्दा स्थानीय मौलिक सीप र प्रविधिको प्रयोग हुने,रोजगारी पाउने, गुणस्तरीय निर्माण हुने हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई नै जोड दिइरहेको बताउनुभयो ।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर अहिले विभिन्न स्थानीय तहहरुको अध्ययन भ्रमण गर्ने थलोको रुपमा पनि बिकास भइरहेको बताउँदै जनप्रतिनिधिहरुबीचको एकापसको अनुभव आदानप्रदानले हौसला मिल्ने बताउनुभयो ।
सोही क्रममा चौतारा साँगाचोक गढीका उपप्रमुख सीता थापाले विश्वको ध्यान भक्तपुरप्रति केन्द्रित भइरहेको बताउँदै भक्तपुरको समिप्यता र एकता नै यहाँको सफलताको शुत्र भएको बताउनुभयो ।
लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष मिठुदेवी लामाले भक्तपुरका जनप्रतिनिधि जनताको सेवकको रुपमा खटिनुभएको उल्लेखनीय पक्ष भएको बताउँदै भक्तपुर नपा देशकै सानो नपा भएर पनि देशकै लागि उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सुशासन केन्द्रका उपाध्यक्ष विनोद बिडारीले विकास निर्माणको काममा उपभोक्ता समितिलाई पारदर्शी बनाउन सकिए विकासले छिटो गति लिने बताउनुभयो ।
टोलीमा महालक्ष्मी नपाका उपप्रमुख लक्ष्मी महर्जन, भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पा, महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले, लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष मिठुदेवी लामा, हेलम्बु गाउँपालिका उपाध्यक्ष् अप्सरा लम्साल लामिछाने, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, चौतारा साँगाचोकगढी नपाका उपाध्यक्ष सीता थापा र जुगल गाउापालिकाका वडाध्यक्ष रबिन्द्र घिमिरे र प्रशासनिक कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख प्रजापतिले उपस्थित सबैलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।



