प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई स्वागत
भक्तपुर । २०८० जेठ ८ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई आज एक कार्यक्रमबीच खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो ।
प्रप्रअ शर्माको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलनको थलो पनि भएको बताउँदै भक्तपुर नपाले स्थानीय तहबाट हुनसक्ने अधिकत्तम सेवाहरु जनतालाई उपलब्ध गराउँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले अघिल्लो कार्यकालमा ४८ वटा ऐन–नियम बनाएको र यो वर्ष ८ वटा नयाँ कानुन निर्माण गरी जनताको हितलाई केन्द्रमा राखी काम गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि र कर्मचारीहरु एकाकार रुपमा अगाडि बढेको छौं ।’
भक्तपुरका जनप्रतिनिधि र कर्मचारीहरुले इमानदारीपूर्वक र पारदर्शी ढंगले जनताको सेवकको रुपमा काम गर्दै आएको उहाँले सोही अवसरमा बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले भक्तपुरलाई कार्यथलो बनाउने अवसर प्राप्त भएकोमा गौरव अनुभूति भएको बताउँदै भक्तपुरको शानलाई अझ उँचो बनाउन प्रयत्नरत रहने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रशासकीय अधिकृत दामोदर सुवालले पनि बोल्नुभएको थियो ।




