भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा ९ सकोलानस्थित ऐतिहासिक पालि फः फल्चाको एक समारोहबीच शिलान्यास गर्नुभयो । कुल ३९ लाख ५१ हजार ७९९ रुपैयाको लागतमा पुनः निर्माण हुन लागेको उक्त फल्चा पुरानो नगरक्षेत्रको एक मात्र पालि फः फल्चा रहेको बताइएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सम्पदा जनताको गहना र संसारकै जनताको साझा सम्पति भएको बताउनुभयो । उहाँले सम्पदाको महत्व थाहा नहुँदा मूर्तिलाई ढुंगा ठानेर खेल्ने र रमाइलो गर्ने गरिएको तर सम्पदाको महत्व बुझेपछि संरक्षणमा लाग्न थालेको धेरैको अनुभव रहेको बताउनु भयो ।
भक्तपुरमा सम्पदा पुनः निर्माण तथा अन्य विकासका कार्यहरुमा स्थानीय जनताको सहभागितामा उपभोक्ता समिति गठन गर्दा कम लागतमा बलियो र मौलिक शैलीको संरचना बनेको र ती सम्पदाहरुको संरक्षण समेत स्थानीय जनताबाट नै भएको उल्लेख गर्दै देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु भक्तपुरका जनताको कार्यबाट प्रभावित भएको बताउनुभयो ।
भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले स्थानीयवासीहरुसंग पटक पटक छलफल गरी मौलिक शैलीमा नै चुना सुर्कीको प्रयोगबाट उक्त फल्चा पुनः निर्माण गर्न लागिएको चर्चा गर्दै फल्चासंग जोडिएको संस्कृति र जीवनपद्धतीलाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष एवं पूर्व वडाध्यक्ष विष्णु बहादुर मानन्धरले पालि फः फल्चासंग जोडिएको इतिहासको विषयमा जानकारी दिनुभयो । उहाँले जर्मन सरकारको सहभयोगमा भक्तपुर विकास परियोजनाले अत्यन्त कमजोर ढंगबाट पालि फः फल्चा निर्माण गरिएको र त्यस विषयमा अग्रजहरुबाट गुनासो गर्दा सुनुवाइ नभएको चर्चा गर्दै अब स्थानीय जनताकै अग्रसरतामा बनाउन लागिएको हुँदा उक्त पाटी अत्यन्त बलियो र दीर्घकालसम्म टिक्ने मौलिक शैलीको बनाउन मेहनत भइरहेको बताउनुभयो ।
पूर्व वडाध्यक्ष एवं नेमकिपा ९ नं वडा समितिका उपाध्यक्ष ज्ञान सागर प्रजापतिले पाटी पौवा, मन्दिर, सत्तल, ढुंगेधारा आदि हाम्रो सभ्यताको परिचय भएको उल्लेख गर्दै पुर्खाले नासोको रुपमा छोडेर गएका संरचनाहरु मौलिक शैलीमै पुनः निर्माण गर्नु नयाँ पुस्ताको कर्तव्य भएको उल्लेख गर्नुभयो । सामूहिक काममा समाजको योगदान र अपनत्व हुने चर्चा गर्दै उहाँले भक्तपुरमा उपभोक्ता समितिमार्फत भएका सबै कार्यहरु उत्कृष्ट बनेको बताउनुभयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले पालि फः फल्चाको विशेषता र इतिहासमा यस पाटीको साँस्कृतिक महत्वको विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका सचिव अष्टलाल मानन्धर र तुल्सीकाजी मानन्धरले पनि बोल्नुभयो ।




+4
B