बृहत पोषण विशेष कार्यक्रम ७ दिने आधारभूत क्षमता अभिवृद्धि तालिम सम्पन्न
२०८० जेठ ७ गते, आइतबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाबाट सञ्चालित ख्वप अस्पतालको आयोजनामा भएको बृहत पोषणसम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिमका सहभागी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई आइतबार एक कार्यक्रमबीच प्रशंसा पत्र वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले बालबालिकाको स्वास्थ्य, जीवनरक्षा र विकासको लागि पोषण महत्वपूर्ण भूमिका हुने बताउँदै राम्रो पोषण पाएका बालबालिकाहरुले राम्रारी हुर्कन, सिक्न र समुदायको लागि योगदान दिन सक्षम हुने बताउनुभयो ।
बालबालिकालाई कुपोषणबाट बचाउन पोषणसम्बन्धी विशेष तालिमको आवश्यकता पर्ने बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीले तालिमबाट आफूले पाएका ज्ञान समुदायका बालबालिकालाई कुपोषणबाट जोगाउन आवश्यक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
सन्तुलित भोजन आजको आवश्यकता रहेको बताउँदै उहाँले आफ्नो शरीरलाई हानी पुर्याउने वस्तुको सेवनबाट टाढा रहनुपर्ने र शरीरलाई फाइदा पुग्ने अन्नको सेवनमा जोड दिई स्वस्थ जीवन बाँच्न सबैलाई प्रेरित गर्नुभयो ।
उहाँले भक्तपुर नपाले नागरिकहरुको सहज स्वास्थ्य उपचारको लागि ख्वप अस्पताल सञ्चालन गरेको बताउनुहुँदै अस्पतालमा कार्यरत सबैले बिरामीहरुको सेवा गर्ने भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पतलका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बालबालिकाहरुको पोषणमा गरिने लगानीले उनीहरुलाई दीर्घकालीन प्रतिफल प्राप्त हुने बताउँदै पोषणको महत्वबारे जनचेतना जगाउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक गंगाप्रसाद पौडेल, डा. विजय ज्याख्व, नर्स रबिना कवांले तालिमबारे आफ्नो अनुभव सुनाउनुभयो । साथै ख्वप बुहप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले तालिमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।



