नगर प्रमुख प्रजापतिसँग इलामको रोङ गाउँपालिकाका अध्यक्ष स्याङबोको भेट
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग कोशी प्रदेशअन्तर्गत इलामको रोङ गाउ“पालिकाका अध्यक्ष मनिकुमार स्याङबोले आइतबार भनपा सभाकक्षमा भेट गर्नुभएको छ ।
भेटमा नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगरीमा स्वागत गर्दै भक्तपुर नपाबाट सञ्चालित ८ वटा कलेजहरुको शैक्षिक विशेषताबारे अवगत गराउनुभयो । भक्तपुर नपाले कलेज सञ्चालनसँगसँगै ख्वप अस्पताल सञ्चालन गरी यहाँका नागरिकहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले नगरको मौलिक शैली जगेर्ना गर्न आवश्यक पहल गर्दै आइरहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई यहाँको मौलिक शैली संरक्षणका विधिहरु सिकाउँदै फरक ढंगले इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । रोङ गाउ“पालिकाले आफ्ना नागरिकहरुको सुविधाको लागि कलेज सञ्चालन गर्ने उद्देश्य निकै स्वागतयोग्य भएको बताउँदै रोङ गापालाई आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताउनुभयो ।
त्यस्तै रोङ गा.पा. अध्यक्ष स्याङ्बोले चारवटा गाविस मिलाएर निर्माण भएको रोङ गाउँपालिका ६ वटा वडाहरुमा विभाजित रहेको बताउनुभयो । कृषि, धार्मिक र पर्यटकीय हिसाबले प्रसिद्ध रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिर पुनःनिर्माण प्यागोडा शैलीमा बनाउने योजना रहेको र त्यसमा भक्तपुर नपाबाट प्राविधिक सहयोगको लागि समेत आग्रह गर्नुभयो ।
भक्तपुरका मन्दिरहरुकै शैलीमा पाथीभरा निर्माण गर्ने सोच रहेको बताउँदै उहाँले रोङ गाउँपालिकाले कलेज सञ्चालन गर्ने उद्देश्य समेत रहेको र कलेज सञ्चालनमा भक्तपुर मोडलबारे अनुभव आदानप्रदानको उद्देश्यले भक्तपुर भ्रमणमा आएको बताउनुभयो । भक्तपुरबाट आफू साह्रै प्रभावित भएको बताउँदै शिक्षा, सम्पदा पुनःनिर्माण, सरसफाईलगायतका विषयमा जिज्ञासाहरु राख्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले गाउँपालिका अध्यक्ष स्याङबोलाई नपाका पुस्तकहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।

