२०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गर्याे ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य भएको बताउँदै भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु आफ्ना नागरिकहरुको हितमा चौबिसैं घण्टा एम्बुलेन्स र दमकलजस्तै खट्नुपर्ने धारणा राख्नुभयो ।
नगरपालिकाका कर्मचारीहरुले आफ्ना सेवाग्राहीप्रति गरिने भाषा र व्यवहारमा सुधार गर्नुपर्नेतर्फ इंगित गर्दै अध्यक्ष बिजुक्छेँले कार्यालय समयमा व्यक्तिगत कामलाई प्राथमिकता दिन नहुने र कर्मचारीलाई कर्तव्य पालनामा कडाइ गर्नुपर्ने विचार राख्नुभयो ।
कर्मचारीहरुले १० देखि ५ बजेसम्म काम गर्ने भावना त्यागी कार्यालयको आवश्यकताअनुसार काम गर्ने भावनाबाट प्रेरित हुनुपर्नेमा जोड दिँदै आफू कर्मचारीको रुपमा नभई जनताको सेवकको रुपमा काम गर्न मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको स्तरोन्नति सँगै नगरपालिकाले नगरका वडा वडाहरुमा रहेको पुस्तकालयहरुको पनि सुधारमा आवश्यक पहल गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर विशिष्ट पाहुनाहरुले अवलोकन गर्ने राजधानी सहर भएको हुँदा यो सहरलाई सँधै सफा र सुग्घर राख्नुपर्ने सुझाव दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताउँदै उहाँले यो देशद्रोही कदम हो र यस प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गरी जनतामाझ उदांग्याउनु जरुरी रहेको बताउनुभयो ।
राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले विदेश शक्तिसामु झुक्ने शासकहरूको प्रवृत्तिले गर्दा नेपाल साम्राज्यवादीहरुको जालोमा फस्दै गइरहेको स्पष्ट पार्नुभयो । विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हितविपरीत रहेको सोही अवसरमा उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूरा गर्न भक्तपुर नपा कटिबद्ध भइ लागिरहेको बताउनुभयो ।
उहाँले नेपालमा संघीयता कार्यान्वयनपछि संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई व्यापक जनताको हितमा काम गर्दै आएको बताउनुभयो ।
भक्तपुरका जनताले गरेका मिहिनेत, परिश्रम र योगदानलाई जिल्ला जिल्लाका जनताले सूक्ष्म ढंगले हेरिरहेको बताउँदै उहाँले नगरपालिकाले संघीयताको मर्म र भावनाअनुसार निरन्तर जनताको सेवामा समर्पित हुँदै समाजवादउन्मुख काम गर्र्दै आएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरका जनताको एकता, सहयोगी भावना र पुनःजागरण नै यहाँको विशेषताको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर मोलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरको रुपमा अगाडि बढिरहेको बताउँदै उहाँले यहाँको शैक्षिक अभियान पनि विशिष्ट रहेको चर्चा गर्नुभयो ।
दृश्य प्रदूषणबाट मुक्त हुन सके भक्तपुर अझ सुन्दर र आकर्षक बन्ने बताउँदै उहाँले भक्तपुरले समाजवादी व्यवस्थाअनुरुप काम गरी व्यापक जनताको हितमा काम गरेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजवादउन्मुख गतिविधिलाई जोड दिँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यअनुसार शिक्षा शिक्षा, स्वास्थ्य, पर्यटन,सम्पदा संरक्षण, सरसफाईलगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले नगरबासी जनताको साथ र सहयोगकै कारण भक्तपुरले आजको उपलब्धी हासिल गरेको बताउँदै २१ औं शताब्दीको विकसित र सुसंस्कृत समाज प्रतिस्थापन गर्न निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दोस्रो कार्यकालको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै बाँकी कार्यकाल अझै उदाहरणीय रहने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै उहाँले उपलब्ध स्रोतसाधनको अधिकत्तम उपयोग गरी जनताको हितमा अझ सशक्त ढंगले काम गर्न नपा अग्रसर हुनुपर्ने बताउनुभयो ।
कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुर नपा स्थानीय सरकारको नमुना स्थानीय तहको रुपमा रहेको चर्चा गर्दै भक्तपुरको आजको विकासमा नेमकिपाको अतुलनीय योगदान स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीलगायतको संलग्नता रहनु आफैमा पुँजीवादी व्यवस्थाको विकृत रुप हो, उहाँले भन्नुभाये । ख्वप विश्वविद्यालयको कानुन यथाशक्य पारित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कानुन विषय आफैमा महत्वपूर्ण विषय भएको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज अफ लमा २७ वटा जिल्लाका ६० जना विद्यार्थी कानुन विषय अध्ययनरत रहनु गौरवको विषय भएको बताउनुभयो ।
ख्वप ई. कलेज प्राचार्य सुजन माकले कलेज स्थापनादेखि हालसम्ममा भक्तपुर नपाका १,८५५ जना विद्यार्थीले विविध विषयमा ई. अध्ययन गर्ने अवसरमा प्राप्त गरेको बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले स्थापित ख्वप इ. कलेजमा ७७ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै उहाँले ख्वप ई. कलेज नेपालकै उत्कृष्ट कलेजको रुपमा अगाडि बढिहरकेो अवगत गराउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले विगत ९ महिनामा ख्वप अस्पतालले १ लाख ७९ हजार बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै अस्पतालले प्रसुती सेवाको पनि बिस्तार गरिसकेको अवगत गराउनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्र हुँदै हाल १०० शैय्याको ख्वप अस्पताल सञ्चालन आफैमा भक्तपुर नपाको ठूलो उपलब्धी भएको बताउँदै उहाँले ख्वप अस्पतालले दैनिक ७५० जना बिरामीहरुलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएको १ वर्षको अवसरमा आज भक्तपुर नपाले जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ गरेको छ ।













