Explore news and happenings at Bhaktapur

स्वयम्‌सेवी भावनाले काम गर्ने नै स्काउटको महत्वपूर्ण पक्ष

२०७९ चैत्र १३ गते, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल स्काउटको आयोजनामा भएको छैटौं एसिया प्रशान्त क्षेत्रीय मेसेन्जर अफ पिस राष्ट्रिय संयोजकहरूको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आउनुभएका स्काउट प्रतिनिधिहरूको टोलीले सोमबार भेट गर्नुभएको छ । उक्त टोलीलाई स्वागत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले ‘देशको भविष्यको लागि योग्य, अनुशासित, असल र इमानदार नेतृत्व तयार गर्न स्काउट तालिमको महत्वपूर्ण भूमिका रहने बताउँदै संकटमा विचलित नभई संयमतापूर्वक काम गर्ने, सँधै अरुको भलाइको निम्ति चिन्तन गर्ने र स्वयम्सेवी भावनाले काम गर्ने नै स्काउटको महत्वपूर्ण पक्ष हो’ भन्नुभयो ।
भक्तपुर नगर स्काउटको संरक्षकमा नगर प्रमुख र अध्यक्षमा उपप्रमुख रहने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले स्काउट प्रशिक्षकहरूलाई तालिम दिइसकेको र नगर स्काउटको गठनपछि भक्तपुर नगरपालिका भित्रका सबै विद्यालयहरूमा स्काउट गठन गर्ने तयारीमा रहेको बताउनुभयो ।
प्राचीन नगरको स्वरुपलाई बचाइ राख्ने कोसिस भक्तपुर नपाले गर्दै आएको बताउँदै उहाँले भक्तपुरको मौलिक सीप र प्रविधिलाई जोगाउँदै पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका क्षेत्रहरूको अध्ययन, अनुसन्धान र उत्खनन् गर्दै प्राचीन भक्तपुर नगरको सम्पदाहरूलाई जीवन्त राख्न नपा प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको इतिहास र नगरपालिकाको विशेषताबारे संक्षेपमा प्रस्तुतीकरण दिँदै यहाँका मूर्त र अमूर्त कला–संस्कृतिको संरक्षण हाम्रो प्राथमिकताको विषय हो भन्नुभयो ।
प्रतिनिधिमण्डल टोलीको तर्फबाट पिटर जे. ब्लाट्च ओएमले नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी देश विकास कार्यमा सहभागी गराउन स्काउट क्रियाशील रहेको बताउँदै विद्यालयहरुमा पनि अनिवार्य स्काउटको कक्षा सञ्चालन गर्न सके अनुशासित विद्यार्थीहरु उत्पादन हुने बताउनुभयो ।
भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्दै उहाँले स्काउटले एकआपसमा भाइचारा सम्बन्ध विकास गरी बलियो समाज निर्माणमा टेवा पुर्याउने बताउनुभयो ।
औपचारिक कार्यक्रमपश्चात प्रमुख प्रजापतिले भक्तपुर नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो । स्काउट प्रतिनिधिहरूको टोलीमा नेपाल, बंगलादेश, कम्बोडिया, चीन, फिजी, भारत, जापान, मलेसिया, माल्दिभ्स, श्रीलंका, थाइल्याण्ड, भियतनामलगायतका देशबाट स्काउट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.