अमर सहिदहरुको स्मृतिमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता
२०७९ फागुन ५ गते, शुक्रबार
२०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाले अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आयोजना गरेको छ । २०७९ फागुन ५ देखि ९ गते सम्म सञ्चालन हुने अन्तर नगर पुरुष खो खो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो ।
भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले खेलकुद स्वास्थ्य र मित्रताको लागि खेल्नुपर्ने बताउँदै खेलाडीहरुले प्रतिस्पर्धाको भावनाले प्रतियोगितामा भाग लिने हुँदा खेलाडीहरु स्वस्थ र स्फूर्त रहने बताउनुभयो ।
उहाँले खेलमा हार जित स्वाभाविक हुने हुँदा अनुशासित ढंगले खेल्न खेलाडीहरुलाई प्रेरित गर्दै एकआपसमा सहयोगी र मित्रवत ढंगले प्रतियोगितामा भाग लिन उत्साह प्रदान गर्नुभयो । अध्यक्ष बिजुक्छेँले खो खो खेल प्रवद्र्धनमा भक्तपुर नपाले आयोजना गरेको अन्तर नगर खोखो प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने बताउँदै खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने सुनौलो अवसर पनि हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘खेलाडीहरु खेलमा मात्रै सीमित नरही देशको समसामयिक राजनीतिबारे ध्यान दिने, देशको सार्वभौमिकता रक्षाको लागि बोल्ने र आवश्यक परे लड्न पनि तयार हुने एक योद्धाको रुपमा विकास भएको हेर्न चाहन्छौं ।’
भक्तपुर नपाले आयोजना गरेको खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै उहाँले युवाहरुले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने देशक्तिपूर्ण भावनाको विकासको लागि यस प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त शहिदहरुमा समर्पित रहेको बताउँदै देशमा प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष बितिसक्दा पनि नेपाली जनताले प्रजातन्त्रको उपलब्धी खासै अनुभूति गर्न नसकेको बताउनुभयो ।
खेलकुद क्षेत्रमा भएको पक्षपात, भेदभावको अन्त्य हुनु जरुरी रहेको बताउँदै सांसद गोसाईंले ओझेलमा परेको खो खो खेलको प्रतियोगिताले यस खेललाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको र १४ वटा टीमबीच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने खेलाडीहरुको तर्फबाट राज कुस्मा, प्रशिक्षकको तर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले अन्तर नगर पुरुष खो खो प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न शपथ लिनुभयो ।