Explore news and happenings at Bhaktapur

तीन दिने शैक्षिक प्रदर्शनी समापन

२०७९ फागुन ५ गते शुक्रबार ।

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भयो ।
सांसद सुवालले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज लगायतका शैक्षिक संस्थाहरुको स्थापनाको मुख्य उद्देश्य कामदार वर्गका छोराछोरीहरुलाई उच्च शिक्षा प्रदान गर्न रहेको बताउनुहुँदै विभिन्न जिल्लाका विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग लगायत विभिन्न विषयमा दक्ष जनशक्ति तयारी गरी ७७ जिल्लाका जनतालाई सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर प्रयास गर्दा पनि स्वीकृति नदिनुमा सरकारमा गएका दलहरु जिम्मेवार छ भन्नुहुँदै विश्वविद्यालय स्थापना नभएसम्म प्रयास यथावत रहने बनाउनुभयो ।
संसदमा आधाभन्दा बढी सांसदहरु उपस्थिति नहुनुमा हाम्रो देशका सांसदहरु जनताप्रति उत्तरदायी नएको स्पष्ट हुन्छ भन्नुहुँदै उहाँले ठेकेदार, मूर्ति तस्कर, शैक्षिक माफिया, निजी कलेज र कम्पनीका सञ्चालकहरु, शेयर कारोबार गर्नेहरुले चुनाव जितेर आउनु मुख्य कारण रहेको बताउनुभयो । उहाँले देशभक्त प्राध्यापक, बुद्धिजीवी, विद्यार्थीहरु र नेपाली नागरिकहरु सबै मिलेर भारतीय विस्तारवाद, एमसीसी, एसपीपी लगायत असमान सन्धी सम्झौताहरुको विरोध निरन्तर गर्नुपर्ने र नयाँ पुस्तालाई यस बारेमा सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप सर्कलका व्यवस्थापन समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर कला, संस्कृति र सम्पदाले भरिपूर्ण सहर भएको हुँदा यहाँ प्रत्येक नगरबासी कलाकार र एक घर बराबार एक साँस्कृतिक सम्पदा रहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरु कुनै न कुनै सीपमा पोख्त हुनुपर्ने बताउनुभयो । उहाँले जनताको साहित्य भनेको प्रगतिशील र क्रान्तिकारी साहित्य हो भन्नुहुँदै शोषण विरुद्ध लड्न यी साहित्यले उत्साह थप्ने भएकोले साहित्यलाई परिवर्तनको हतियार बनाउनुपर्ने तथा नयाँ पुस्ताले साहित्यको माध्यमबाट देश र जताको पक्षमा लड्न आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण सँगगँगै खेलकुदको माध्यमबाट पनि परिचित गराउन फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको आयोजना गरेको बताउनुहुँदै खेलकुदका गतिविधिहरु सञ्चालन गर्नु भनेको जनतालाई सकृय बनाउन र नगरलाई जीवन्त राख्ने प्रयास हो भन्नुहुँदै नपाको आयोजनामा निकट भविष्यमा हुने साँस्कृतिक प्रतियोगिताहरुमा पनि विद्यार्थीहरुको सकृय सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका सभासद् सृजना सैंजुले ८ वटा शैक्षिक संस्थाहरु सञ्चालन गर्ने भक्तपुर नगरपालिका देशकै एक मात्र स्थानीत तह भएको बताउनुहुँदै शैक्षिक क्षेत्रमा विगत दुई दशकमा ख्वप सर्कलले फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले छात्राहरु पढाईसँगसँगै अतिरिक्त क्रियाकलापहरुमा अगाडि बढ्नु सुखद् रहेको बताउनुहुँदै अबका दिनमा देश र जनताको सेवा गर्न छात्राहरु राजनैतिक चेतना र भूमिकामा पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले ख्वप कलेजले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा भक्तपुर जिल्ला र छिमेकी जिल्लाका गरी ६२ वटा विद्यालयका करिब ८ हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेकोमा खुशी व्यक्त गर्नुहुँदै यो आफैमा सफलता भएको चर्चा गर्नुभयो ।
समापन कार्यक्रममा विद्यार्थीहरुको लागि २८ वटा प्रतियोगितात्मक साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियो भने प्रमुख अतिथि सुवाल र अतिथिहरुले चित्रकला, कविता र वक्तृत्वकला तथा दौड, भलिबल, फुटसल, टेबुल टेनिस, चेस लगायतका आन्तरिक खेलकुद प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.