Explore news and happenings at Bhaktapur

कालिकोटका पार्टी कार्यकर्ताबीच राजनीतिक प्रशिक्षण सम्पन्न

कालिकोट । २०७९ माघ १० गते, मंगलबार

0
आज माघ १० अर्थात् नेपाल मजदुर किसान पार्टीको ४९ औं स्थापना दिवस । सोही अवसरमा कालिकोट जिल्ला समितिले कालिकोटका पार्टी कार्यकर्ताहरुबीच मंगलबार राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टी आजको दिनसम्म आइपुग्दा पार्टीका अग्रजहरुले गरेको दुःख, कष्ट, संघर्षको स्मरण गर्दै पार्टीको उद्देश्य पूरा गर्न अविचलित संघर्ष गर्ने सम्पूर्णमा सम्मान व्यक्त गर्नुभयो ।
एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवादको नाउँमा पुँजीवादी सरकारमा गएर देशमा समाजवाद स्थापना गर्ने उनीहरुको नीति आज पुँजीवादी र दक्षिणपन्थी अवसरवाद पुष्टि भएको छ, उहाँले भन्नुभयो ।
समाजलाई परिवर्तन गर्ने र कामदार वर्गलाई राजनीतिक रुपमा सचेत र संगठित पार्ने उद्देश्यले नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको बताउँदै प्रजापतिले सरकारमा जानु ठूलो कुरा नभएको बताउनुभयो ।
भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरिरहेको विषयमा प्रशिक्षित गर्दै उहाँले भक्तपुर नपाले सरकारको मुख नताकी स्वाबलम्बी ढंगले काम गर्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले देशको लागि आवश्यक जनशक्ति तयार गर्ने सवालमा भक्तपुर नपाले महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्नुभ्यो ।
समाजवाद कामदार वर्गको हित हुने राज्य व्यवस्था भएको बताउँदै यो शान्तिपूर्ण संघर्षले नभई सशस्त्र संघर्षबाट मात्रै स्थापना गर्न सम्भव भएको बताउनुभयो ।
नेपालमा पश्चिमेली प्रजातन्त्र असफल भइसकेको बताउँदै नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्नु कानुनसम्मत नभएको उहाँले बताउनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थ त्याग्ने, नियमित चन्दा दिने, सामूहिक भावना विकास आदि कम्युनिष्ट पार्टीका कार्यकर्ताको विशेषता भएको बताउँदै सिंगो समाजलाई अगाडि बढाउने समाजवादी चिन्तन नेमकिपाका कार्यकर्ताहरुमा हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले चुनाव जित्नकै लागि भएको अनैतिक गठबन्धन धेरै दिन नटिक्ने बताउँदै पार्टीको विकास र विस्तारमा कार्यकर्ताहरुले आफूले सक्ने योगदान गर्नु आवश्यक भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका उपाध्यक्ष नरदिप शाहीले पार्टी स्थापनाका आधारहरुमाथि प्रष्ट पार्दै पार्टीमा लागेपछि व्यक्तिगत इच्छा, आवश्यकता र स्वार्थलाई त्याग्न सक्नु एक असल कार्यकर्ताको विशेषता हो र भारतीय विस्तारवाद नै नेपाली जनताको मुख्य शत्रु हो भन्नुभयो ।
नेक्राविसंघका अध्यक्ष प्रकाश गुरुङले देशको शिक्षा व्यवस्था निकै नाजुक अवस्थामा रहेको बताउँदै पुँजीवादी व्यवस्था अन्त्य नभएसम्म कामदार वर्गका जनताले दुःख पाइरहने हुँदा समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा निरन्तर संघर्षरत रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति नेमकिपा कालिकोट जिल्ला समितिका अध्यक्ष खड्गबहादुर शाहीले पार्टी स्थापना दिवसको शुभकामना दिँदै पार्टीको इतिहास र भूमिकामाथि प्रष्ट पार्नुयभो ।
कार्यक्रममा कालिकोट जिल्ला समितिका सचिव धनन्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.