नेमकिपालाई प्रमुख प्रतिपक्ष नदिए कानुनी संघर्ष लड्ने : का. सुनिल प्रजापति
कालिकोट । २०७९ माघ ९ गते, सोमबार
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा सम्झौताहीन संघर्ष गर्दै नेपाल मजदुर किसान पार्टी ४८ वर्षदेखि निरन्तर अगाडि बढ्दैछ भन्नुभयो ।
उक्त विचार का. प्रजापतिले कालिकोट जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४९ औं स्थापना दिवस (माघ १०) को अवसरमा कालिकोटको सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राख्नुभएको हो ।
पार्टी स्थापनाकालदेखि नै जनताको प्रजातन्त्र, समाजवाद हुँदै नेपालमा साम्यवादी समाज स्थापना गर्ने दीर्घकालीन उद्देश्य लिएर अगाडि बढिरहेको प्रष्ट पार्दै सभामुखले कानुन सम्मत ढंगले नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्न ढिलाइ गर्न नहुनेमा का. प्रजापतिले जोड दिनुभयो ।
प्रमुख प्रतिपक्षमा बस्नुपर्ने नेपाली कांग्रेसले आश्चर्यपूर्वक ढंगले सरकारको समर्थन गर्नुले नेपालमा पश्चिमेली प्रजातन्त्र असफल सावित भएको उहाँले बताउनुभयो ।
नेपालका कम्युनिष्ट पार्टीहरु निर्वाचन जितेर समाजवादी समाज स्थापना गर्ने पुजीवादी बाटोमा अगाडि बढ्दै गइरहेको बताउँदै उहाँले भन्नुभयो, पदको निम्ति सिद्धान्तहीन गठबन्धन गर्नु अनैतिक कार्य भएको बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासामाथि प्रष्ट पार्दै का. प्रजापतिले शासक दलप्रति जनताको वितृष्णा बढेकै कारण केही स्वतन्त्र व्यक्तिहरुले यसपटकको निर्वाचन जितेको बताउँदै जनताले इमानदारीपूर्वक मत दिएको ठाउँमा नेमकिपाले जीत हासिल गरेको र जनताले जिताएको ठाउँमा इमानदारीपूर्वक जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
शासक दलले पैसाको भरमा चुनाव जितेका छन्, त्यो भनेको उनीहरुको क्षणिक जीत हो, जनतालाई नै राजनीतिक रुपमा सचेत गर्ने अभियानमा भने नेमकिपा निरन्तर संघर्षरत रहेको उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति प्राप्त गरेको खण्डमा सस्तोमा मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरमा जस्तै अन्य जिल्लामा पनि जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले पार्टीका नेता कार्यकर्ताहरु सक्रिय रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले भेरी र कर्णालीजस्ता कठिन भूभागमा पहिलोपल्ट कम्युनिष्ट आन्दोलनको बीउ रोप्ने नेपालको एकमात्र सच्चा कम्युनिष्ट पार्टी नेमकिपा भएको बताउनुभयो ।
नेमकिपा कालिकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समितिका धनन्जय अधिकारीले पनि बोल्नुभएको थियो ।


