खोपसम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठी सम्पन्न
भक्तपुर । २०७९ पुस २५, सोमबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा खोपसम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठी सम्पन्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस् भन्ने उद्देश्यले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।
सरकारबाट निःशुल्क रुपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउन परिरहेको यथार्थ प्रस्तुत गर्दै उहाँले स्वास्थ्य संस्थाहरु व्यापक जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।
राज्य बलियो भए निजी संस्थाहरु स्वतः कमजोर हुँदै जाने बताउनुहुँदै उहाँले भक्तपुर नपाले राज्यलाई बलियो बनाउने उद्देश्यले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । भक्तपुर नपाले नगरभरि निःशुल्क रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको अवगत गराउनुहुँदै सरकारी अस्पतालको स्तरोन्नतितर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
सोही क्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य संस्थाको कार्यक्षेत्रभित्रको आधारभूत जानकारी प्रस्तुत गर्दै खोप कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्यहरुमाथि प्रष्ट पार्नुभयो ।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हाल ८० प्रतिशत मात्र पूर्ण खोप लगाएको अवस्था रहेको बताउँदै शत प्रतिशत खोपको सुनिश्चितता हाम्रो योजना हो भन्नुभयो ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप कार्यक्रमको उपलब्धीहरुमाथि चर्चा गर्दै खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा पुर्याउने र सो कायम गर्ने योजना रहेको बताउनुभयो ।
गोष्ठमा ख्वप अस्पताल घरदैलो नर्सिङका इन्चार्ज रचना सुवालले पनि बोल्नुभएको थियो ।


