भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न
भक्तपुर । २०७९ मंसिर १७ गते शनिबार ।
भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित वडा कार्यालय भवन अगाडिको भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम शनिबार बिहान एक समारोहबीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीले गरेको योगदानकै कारण भक्तपुरका जनताहरुको जीवनस्तर माथि उठेको हो भन्नुभयो ।
देशभरिका स्थानीय तहहरुले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका क्षेत्रमा गरेका गतिविधिहरुलाई अनुकरण गर्न खोजिरहेको उल्लेख गर्नुहुँदै उहाँले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको सवालमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
उहाँले भक्तपुर नपाले आफ्ना गतिविधि पारदर्शी ढंगले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत आफ्नो कार्यलाई सार्वजनिक गर्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुरबासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पोखरी जीर्णेद्धार तथा मर्मत कार्यको लागि उपभोक्ता समितिमा बसेर काम गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्नुहुँदै वडा नं. ६ मा भइरहेको विकास निर्माणका गतिविधिहरुबारे अवगत गराउनुभयो ।
त्यस्तै कार्यपालिका सदस्य रोशन मैंया सुवालले भक्तपुर नपाले यहाँका मूर्त अमूर्त सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउनुहुँदै पोखरी पुनःनिर्माणको हिसाबकिताब जनतामाझ सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
त्यस्तै वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पोखरी पुनःनिर्माणसँगै भोलाछेँ टोलको सुन्दरता थपेको बताउनुभयो ।
भोलाछेँ पोखरी सार्वजनिक परीक्षण कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णभक्त चाँगुभारीले स्वागत मन्तव्य, कोषाध्यक्ष सुरज बजिकोले आय व्यय सार्वजनिक र सचिव सानुमैया बजिको र गोपीकृष्ण चाँगुभारीले पनि बोल्नुभएको थियो ।


