Explore news and happenings at Bhaktapur

दैलेखका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

२०७९ असोज ७ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेख जिल्लाको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा र दुल्लु नपाका प्रमुख भरतप्रसाद रिजाल नेतृत्वको जनप्रतिनिधि टोलीले शुक्रबार भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिको टोलीलाई भक्तपुरमा खादा, परम्परागत थैली र भादगाउँले टोपीका साथ सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले सबै नगरपालिकाहरुको आ–आफ्नै विशेषताहरू भएको बताउनुहुँदै कुनै नगरपालिका जलश्रोत, कुनै नपा वनजंगल र कुनै सांस्कृतिक सम्पदाहरूमा धनी हुने हुँदा आ–आफ्नो स्रोत र साधनको अधिकत्तम प्रयोग गरी आफ्नो ठाउँको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपा भौगोलिक र जनसङ्ख्याको आधारमा सानो भए पनि भक्तपुरको विकास र जनताको सेवा गर्ने काममा अग्रस्थानमा रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपा सम्पदा संरक्षणमा उत्कृष्टता, मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहन अनुदानको व्यवस्था, विकास निर्माणमा जनसहभागितालगायतका कार्यहरू गर्दै नपाले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले विगत ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर नगरबासीहरुको घरबाटै अलग अलग दिन संकलन गर्दै आएको बताउनुहुँदै कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरुलाई सस्तोमा बिक्री गर्दै आएको र पुनःप्रयोग गर्न सकिने फोहर बिक्री गरी त्यसबाट केही पैसा आर्जन गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो । उहाँले जनतालाई दण्ड जरिवाना भन्दा सचेतनालाई नै नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
सोही क्रममा नारायण नपाका प्रमुख लोमन शर्माले दैलेख भौगोलिक रुपमा विकट रहे तापनि पर्यटकीय विकासमा उच्च सम्भावना भएको ठाउँ भएको बताउनुहुँदै प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा भने धनी रहेको बताउनुभयो । उहाँले भक्तपुर र दैलेखबीचको सम्बन्ध निकै पुरानो रहेको र दुई जिल्लाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले देशकै लागि नमुना कामहरु गरिरहेको बारे आफूहरु अवगत रहेको बताउनुहुँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाई व्यवस्थापनलगायतको विषयमा गरिरहेको कामबाट सिक्न चाहेको बताउनुभयो ।
दुल्लु नपाका प्रमुख भरतप्रसाद रिजालले भक्तपुर नपासँग असल अभ्यास आदानप्रदान गर्ने क्रममा भक्तपुर भ्रमणमा आएको बताउनुहुँदै दैलेखका ऐतिहासिक सम्पदाहरु पुनःनिर्माणमा भक्तपुरकै कालीगढहरुको सहयोग प्राप्त भएको र स्रोतसाधन समेत भक्तपुरबाटै ल्याउने गरिएको बताउनुभयो ।
भेटमा नारायण नपाका उपप्रमुख तप्ता थापा, दुल्लु नपाका उपप्रमुख विना कार्की, चामुन्डा नपाका उपप्रमुख मनसरा कुमारी सावत, भैरवी गापाका उपाध्यक्ष देवी भण्डारी, चा.वि.न.पा. का वडाध्यक्ष रत्नबहादुर शाही, सचिवालय सदस्य चिरन्जीवीप्रसाद उपाध्याय, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, श्यानिटेशन शाखाप्रमुख दिलिपकुमार सुवाललगायतको उपस्थिति थियो ।
नगर प्रमुख प्रजापतिले दैलेखका जनप्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो । भेटपश्चात उहाँहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको अवलोकन भ्रमण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.