Explore news and happenings at Bhaktapur

घरदैलो नर्स सेवाले समाजका ज्येष्ठ र अशक्त नागरिकको बढी सेवा भएको छ ः प्रमुख प्रजापति

२०७९ असोज १ गते, शनिबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ६ चोछेँ स्थित चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्था लिंको १५ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले सञ्चालन गरिरहेको घरदैलो नर्स सेवाले समाजका ज्येष्ठ र अशक्त नागरिकहरुलाई बढी सेवा भएको बताउनुहुँदै जनताको सेवा नै नगरपालिकाको मुख्य लक्ष्य भएको हुँदा नपाले वडा वडामा नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालले निम्न शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुुहुँदै सहकारी संस्थाहरुले आर्थिक लाभलाई मात्र नभई सदस्यहरुलाई प्रत्यक्ष परोक्ष फाइदा पुग्ने विषयहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले फोहेर मैला व्यवस्थापनको सन्दर्भमा कुहिने फोहोरलाई प्रांगारिक मल उत्पादन गरी सुलभ रुपमा यहाँका किसानहरुलाई वितरण गर्दै आइरहेको प्रसंग जोड्नुहुँदै भक्तपुर देशकै नमुना नगरको रुपमा विकास गर्न नगरबासीहरुको पनि ठूलो भूमिका रहेको बताउनुभयो ।
विदेशीलाई सहज रुपमा नागरिकता दिने नागरिकता विधेयक देशको हितमा नभएको हुँदा सचेत जनताले यसको विरोधमा आवाज उठाउनुपर्ने बताउनुहुँदै भक्तपुर नपाले संकटको बेला जनतालाई सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको स्मरण गर्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको आगामी नीति तथा कार्यक्रमहरुमाथि प्रष्ट पार्नुहुँदै भनपा वडा नं. ६ स्थित छुमा गणेश द्यो छेँ र महाकाली द्यो छेँ पुनःनिर्माण गर्ने योजना वडाको रहेको र यस कार्यमा स्थानीय जनताको उल्लेख्य जनसहभागिता रहने विश्वास राख्नुभयो ।
चोछेँ छुमा गणेश साकोसका अध्यक्ष आशाराम सुवालले भक्तपुर जिल्लाका निम्न र मध्यम पुँजी भएका व्यक्तिलाई संस्थामा आबद्ध गराई ससाना छरिएर रहेका पुँजीलाई संकलन गरी आर्थिक रसामाजिक रुपमा अगाडि बढाई सदस्यहरुको आवश्यकताअनुसारको वित्तीय एवम् आवश्यक परामर्श दिनु संस्थाको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि काजीबहादुर पञ्च, निवर्तमान अध्यक्ष राजेन्द्र दुवाल, उपाध्यक्ष राजाराम सुवाल र सचिव सत्यनारायण सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.