Explore news and happenings at Bhaktapur

सहकारीहरुले देशको सार्वभौमिकतासँग जोडिएका विषयहरुमा पनि आवाज उठाउनुपर्ने

२०७९ असोज १ गते, शनिबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा ४ भुलाँचास्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारणसभाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले आर्थिक रुपमा सक्षम सहकारी संघ संस्थाहरुले शिक्षा र संस्कृति संरक्षणको विषयमा आफ्ना सदस्यहरु सहुलियत दरमा शैक्षिक ऋण तथा मौलिक बाजागाजाको तालिमहरु दिनु उपयुक्त हुने धारणा राख्नुभयो ।
उहाँले सहकारीहरु आर्थिक लेनदेनमा मात्र सीमित नभई सदस्यहरुको सांस्कृतिक, सामाजिक, राजनैतिक चेतनास्तरवृद्धिमा पनि जोड दिनुपर्ने र देशको सार्वभौमिकतासँग जोडिएका विषयहरुमा पनि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाललाई आत्मनिर्भरतातर्फ लाने कार्यक्रमहरुमा जोड दिनुका साथै आफ्ना सदस्यहरुको बचत रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रमुख प्रजापतिले आग्रह गर्नुभ्यो ।
कार्यक्रममा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सहकारी संस्थाहरुमा अहिले ब्याज र लाभांश धेरै वितरण गरी सदस्यहरुलाई आकर्षण गर्ने होडबाजी चलिरहेकोतर्फ सजग पार्नुहुँदै समुदायमा आधारित संघ संस्थाहरुमा मात्र बचत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संरक्षित पुँजी फिर्ता कोष सदस्यहरुलाई कारोबारको आधारमा मात्र दिइनुपर्ने बताउनुहुँदै सहकारीको उद्देश्य र सञ्चालकहरु राम्रोसँग चिनेर मात्र बचत गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष विश्वराम त्वायनाले संस्था स्थापनाको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै बाराही सकोसले संस्थाको सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिई आधुनिक प्रविधियुक्त प्रतिस्पर्धात्मक गुणस्तरीय वित्तीय सेवा तथा क्षमता विकासको कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेफस्कुनका सञ्चालक मन्दरा मिश्र, सिद्धि गणेश साकोसका प्रतिनिधि विष्णुप्रसाद दुमरु र साकोसका उपाध्यक्ष कृष्णभक्त बोडे श्रेष्ठले पनि बोल्नुभएको थियो भने साधारणसभाकै अवसरमा प्रमुख अतिथिले विभिन्न शीर्षकमा संस्थाका सदस्यहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.