Explore news and happenings at Bhaktapur

डकर्मी संघको पुनःगठन एवम् १० औं बृहत डकर्मी भेला

२०७९ असोज १ गते, शनिबार

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल क्रान्तिकारी मजदुर संघको पेशागत संगठन नेपाल क्रान्तिकारी डकर्मी संघको पुनःगठन एवम् १० औं बृहत डकर्मी भेलाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कुनै संघ, संगठनमा आबद्ध हुँदा पेशागत हकहितबारे एकीकृत रुपमा आवाज उठाउन मद्दत पुग्ने बताउनुहुँदै पेशाकर्मीहरुको समस्या समाधानमा पनि संगठनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेमकिपा र नेमकिपाका पेशागत संगठनले इमानदारिता, पारदर्शिता र आत्मनिर्भरतामा जोड दिँदै आएको बताउनुहुँदै भक्तपुरलाई संसारकै हेर्नलायक सुन्दर नगरको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
उहाँले समाजवादी देश क्युवाको चिकित्सा विज्ञान निकै अगाडि बढिरहेको प्रसंग निकाल्नुहुँदै भक्तपुरका जनतालाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नपाले १०० बेडको ख्वप अस्पताल सञ्चालनमा ल्याइ हाल अस्पतालबाट निःशुल्क रुपमा रगत र अक्सिजन समेत वितरण गरिरहेको अवगत गराउनुभयो ।
प्रमुख प्रजापतिले डकर्मीहरु व्यवहारिक सीप र ज्ञान भएका प्राविधिक र इन्जिनियरहरुसरह रहेको बताउनुहुँदै डकर्मीहरुले भक्तपुरलाई सुन्दर नगरको रुपमा विकास गर्न घरधनीहरुलाई मौलिक स्वरुपमा घर निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले एमसीसी र एसपीपी जस्ता देशघाती सम्झौताले नेपाललाई विदेशीहरुको दास बनाउने प्रष्ट पार्नुभयो । उहाँले कुनै पनि पेशा संघ तथा संगठनले सामूहिक हितमा काम गर्नुपर्ने धारणा राख्नुहुँदै एकता नै बल हो भन्ने हिसाबले राजनैतिक रुपमा संगठित र प्रतिबद्ध भएर लाग्न मार्गनिर्देश गर्नुभयो । उहाँले नागरिकता विधेयक देशको हितमा नभएको चर्चा गर्दै यसको खारेजीको माग गर्दै नेमकिपाले देशका विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रमहरुलाई चालु राखेको बताउनुभयो ।
संघका अध्यक्ष विष्णुराम दुमरुले संघमा आबद्ध हुनुको उद्देश्य र महत्वबारे प्रष्ट पार्नुहुँदै संघले पेशाकर्मीहरुको हकहितमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामजदुर संघका अध्यक्ष राजेन्द्र चवालले डकर्मीहरु प्रविधिमैत्री भएनन् भने आफ्नो पेशाबाट पछि हट्न सक्ने स्थिति उत्पन्न हुन सक्ने बताउनुहुँदै भक्तपुर नपाले विदेशी सहयोगविना पुनःनिर्माण गरिएका सम्पदाको आकर्षण र महत्व देशमा मात्र नभई छिमेकी देशहरुको निम्ति महत्वको विषय बनेको बताउनुभयो ।
कार्यक्रममा नेक्रा सिकर्मी संघका अध्यक्ष विक्रम ढुकुछु, वडा नं. ४ का वडाध्यक्ष एवम् सल्लाहकार संघका उपेन्द्र सुवाल, नेपाल इको प्यानलका कृष्णभक्त दुवाललगायतले पनि बोल्नुभएको थियो ।
आजको भेलाले संघका अध्यक्ष विष्णुराम दुमरुको अध्यक्षतामा २० सदस्यीय नेपाल क्रान्तिकारी डकर्मी संघ पुनःगठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.