Explore news and happenings at Bhaktapur

एक दिने बाल साहित्य लेखन कार्यशाला सम्पन्न

२०७९ भदौ ३१, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा प्रगति सामुदायिक सिकाइ केन्द्र भक्तपुरको आयोजनामा विद्यालयका शिक्षक शिक्षिकाहरुको लागि भएको एक दिने बाल साहित्य लेखन कार्यशालाको शुक्रबार समापन कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले साहित्य लेखन मनोरञ्जनको निम्ति मात्र हुन नहुने विचार राख्नुहुँदै साहित्य जनमुखी र स्पष्ट हुनुपर्ने बताउनुभयो ।
बाल साहित्यमा नैतिकता, अनुशासन र देशभक्तिपूर्ण विषयहरु समेटिनुपर्ने धारणा राख्नुहुँदै
प्रमुख प्रजापतिले साहित्यले बालबालिकाको मस्तिष्कमा सकारात्मक सन्देश दिने हुँदा भौतिकवादी सोच र अन्यायको विरोधमा लड्न बालबालिकालाई सानैदेखि शिक्षित गर्नुपर्ने बताउनुभयो ।
निरन्तरको असफलताले मानिसलाई नयाँ ज्ञान हासिल हुने र सफलताको बाटोमा लाने हुँदा कहिल्यै निराश हुन नहुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले छात्रवृत्ति, शैक्षिक ऋण प्रदान गरी भक्तपुरका बालबालिकाहरुलाई सुविधाहरु प्रदान गर्दै आएको छ भन्नुभयो ।
भक्तपुर नपाले पठन संस्कृतिको विकास गर्न नपाबाट सञ्चालित जनज्योति पुस्तकालय र वडा वडाका पुस्तकालयहरुलाई स्तरोन्नति गर्दै आर्थिक् तथा भौतिक सहयोग समेत प्रदान गर्दै आएको बताउनुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजलाई बीएएलएलबी र बागीश्वरी कलेजलाई बीबीए पढाउन स्वीकृति प्राप्त भएको सोही अवसरमा बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्रप्रसाद कुसीले यस सिकाइ केन्द्रले समय समयमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको र छिटै साहित्यक प्रतियोगिताको आयोजना गर्ने तयारीमा रहेको अवगत गराउनुभयो । उहाँले यस किसिमको तालिमले साहित्यप्रति रुचि राख्नेहरुलाई हौसला मिल्ने बताउनुभयो ।
उक्त कार्यशालाका सहभागी प्रशिक्षार्थीहरु शर्मिला ढकाल, रामहरि ताम्राकार, सुलोचना लाखाले आफ्नो अनुभव सुनाउँदै आफूले लेखेका कविता र बाल साहित्य वाचन गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रका सदस्य विकल कोजु कार्यक्रमको महत्वमाथि प्रकाशन पार्नुुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कार्यशलामा सहभागी १७ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सभापति कुसीले प्रशिक्षकहरु हरिहर तिमिल्सिना र कार्तिकेय घिमिरेलाई मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।
 

Leave A Reply

Your email address will not be published.