Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाभित्रका सहकारीकर्मीहरुको भेला

२०७९ भदौ ३० गते, बिहीबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारीकर्मीहरुको भेला कार्यक्रम बिहीबार सम्पन्न भयो ।
भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशी लगानी भएका बैंकलाई नेपालमा सञ्चालन गर्न दिन नहुने बताउनुहुँदै नेपालमा सञ्चालित विदेशी बैंकहरुका कारण देशलाई आर्थिक रुपमा परनिर्भर बनाउँदै लानेतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले समुदायमा आधारित सहकारी संघ संस्थाहरुले समुदायको हकहितमा काम गर्दै आफ्ना सदस्यहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले कोभिडको समयमा भक्तपुर नपाले जनताको स्वास्थ्य बचाउन गरेको गतिविधिले व्यापक जनताको हित भएको छ भन्नुभयो ।
देशको समसामयिक राजनीतिको विषयमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले नागरिकता विधेयक राष्ट्रघाती र देशहित विपरीत भएको चर्चा गर्दै नागरिकता विधेयक बहुमतले पास हुनु देशघात गर्नु हो भन्नुभयो ।
नेमकिपाले रोपेको शिक्षाको बीऊले आज भक्तपुर शैक्षिक उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास हुँदै आएको बताउनुहुँदै भक्तपुरको शैक्षिक क्रान्तिमा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले संस्थाको बचत रकम अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने तर्क राख्नुहुँदै सबै संघ संस्थाहरुले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् भक्तपुर नपा सहकारी समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले आफ्नो कार्यक्षेत्रभित्र रहेका १५६ वटा सहकारीहरुको नियमित अनुगमन गर्दै आइरहेको चर्चा गर्नुहुँदै सहकारी संस्थाहरुले मासिक प्रतिवेदन नियमित रुपमा नगरपालिकालाई बुझाउनुपर्ने, समुदायको आवश्यकताअनुसारको गतिविधि सञ्चालन गर्न आह्वान गर्नुभयो । भक्तपुर नपाले विभिन्न ठाउँमा छरिएर रहेका सहकारी संस्थाहरुलाई एकत्रित पार्ने कार्य गर्दै आइरहेको बताउनुहुँदै सहकारी अनुगमनमार्फत नियमित रुपमा सहकारीहरुलाई सहकारीको सिद्धान्त र मूल्यामान्यताअनुसार चल्न मार्गनिर्देश गर्दै आइरहेको बताउनुभयो ।
त्यस्तै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सञ्चालकहरुले सहकारीका सदस्यहरुको हितमा काम गरी विश्वास जित्नुपर्ने बताउनुहुँदै नपाभित्र सञ्चालित सहकारी संस्थाहरुबीच आपसी सहकार्य र समन्वयको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा भनपा सहकारी अनुगमन समितिका सदस्य तथा वडा नं. ७ का वडा सदस्य हरिरत्न गोर्खाली र वडा नं. ४ का वडा सदस्य पुरुषोत्तम तमखूले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.